९ असोज २०७७, शुक्रवार, काठमाडौं

महेश्वर गौतम
राजधानी दैनिकवाट

६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको छ । निरन्तरको वर्षाका कारण विपद्जन्य घटनाबाट तीन दिनमा १७ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६, ७ र ८ असोजमा पहिरो, बाढी जस्ता प्राकृतिक विपद्का घटनाबाट १७ जनाको मृत्यु भएको हो ।

यी तीन दिनमा सबैभन्दा बढी बिहीबार मात्रै १४ जनाले ज्यान गुमाएका छन् । विपद्का ३० वटा घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीका अनुसार बिहीबार मात्रै बाढी र पहिरामा परी १४ जनाको ज्यान गएको हो ।

‘विगत तीन दिनमा सबैभन्दा बढी बिहीबार १४ जनाको प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएको छ । यसपटक ९० प्रतिशत क्षति पहिरोबाट भएको देखिन्छ,’ केन्द्रका प्रमुख वस्तीले राजधानीसँग भने ।

बिहीबार एकाबिहानै स्याङ्जाको वालिङ नगरपालिका– १४ को तमादीमा गएको पहिरोमा ९ जनाको ज्यान गएको हो । सो घटना सडक विभागले बनाएको अव्यवस्थित सडक पूर्वाधारका कारण भएको स्थानीयले बताएका छन् ।

– बाढीभन्दा पहिरो बढी
– तीन दिनमा १७ को मृत्यु, १५ जना बेपत्ता
– बिहीबार मात्रै १४ जनाको ज्यान गयो

सो घटनामा तीन घर पहिरोले बगाएको थियो । सानी परियारको घरका १० जनामध्ये ७ महिने शिशुसहित ९ जनालाई पहिरोले पुरेको थियो भने अन्य एक जना घाइते छन् । घाइतेको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिहीबार नै पाल्पाको रम्भा गाउँपालिका–२ सुरुंगडाँडाकी २७ वर्षीया मोतीसरा गाहको पनि पहिरोले घर बगाउँदा बगेर मृत्यु भएको हो ।

यसैगरी, बाग्लुङको कातीखोलामा पहिरोले बगाउँदा बिहीबार नै एक जनाको ज्यान गएको हो । यस्तै, बिहीबार नै कपिलवस्तुको मोतिपुरस्थित कोइली खोलामा आएको बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा नगरपालिका–१३ का केशव भाट क्षत्रीको मृत्यु भएको हो । सो घटनामा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सवार जिप बाढीले बगाएको थियो ।

कपिलवस्तुको भलबाडमा विद्युत् लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा वाणगंगा नगरपालिका–७ स्थित कोइली नदीको कजवेमा बुधबार बाढीले जिप बगाएको थियो । जिप चालक गुल्मीका माधवप्रसाद पाण्डेको भने बुधबार साँझ नै शव भेटिएको थियो ।

यसैगरी, ६ गते गुल्मीमा २ जनाको पहिरोमा परी ज्यान गएको थियो भने ७ गते बुधबार मकवानपुरमा पहिरोले स्कर्पियोलाई पुर्दा एक जनाको ज्यान गएको थियो ।

पाल्पामा पाँच जना बेपत्ता
बिहीबार नै पाल्पमा पहिरोले घर बगाउँदा बेपत्ता भएकाहरूको अवस्था अझै अज्ञात छ । रम्भा गाउँपालिका–फोक्सिङ बेलौजाका ६० वर्षीय हुमबहादुर गाहकी छोरीतर्फकी नातिनीसहित पाँच जनाको परिवारलाई पहिरोले बगाएको थियो ।
घटनामा गाहा, उनकी ५० वर्षीया श्रीमती धनिसरा गाह, १७ वर्षीया छोरी कृष्णमाया गाह, मामा घर आएकी १४ वर्षकी नातिनी खुमीसरा आले र छोरातर्फकी छोरी वर्ष ८ की लक्ष्मी गाह पहिरोले पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनाएका हुन् । घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर टाढा पर्छ ।

पृथ्वीराजमार्गमा पहिरै पहिरो
दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न २० भन्दा बढी स्थानमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत र अवरुद्ध छ । सो सडकखण्डको जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । राजमार्गमा पहिरो आएर केही स्थानमा सडक भासिएपछि सवारी साधन चल्न कठिनाइ भएको छ । केही स्थानमा एकतर्फी रूपमा सवारी सुचारु गरिएको छ ।

कुलेखानी सडक पनि अवरुद्ध
अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीका दुई वटा सडकखण्ड पनि अवरुद्ध छन । भीमफेदी—कुलेखानी सडकखण्ड र त्रिभुवन राजपथ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

भीमफेदी—कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ देउराली र त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–९ दन्दुभन्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ललितपुरमा टिपर र मोटरसाइकल पुरियो

ललितपुरको बाग्मती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले दुईवटा टिपर र एउटा मोटरसाइकल पुरेको छ । पहिरोले पुर्दा टिपर र मोटरसाइलमा सवार ५ जना घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

अझै तीन दिन वर्षा
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको विभागले बताएको हो ।

विभागका अनुसार शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना छ । आइबारदेखि भने मौसममा क्रमिक सुधार हुनेछ । आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्ण रूपमा मौसम सफा हुन भने केही दिन लाग्नेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश १, २, ५, गण्डकी र कर्णाली प्रदेशका स्थानमा भारी वर्षा भइरहेको छ । शुक्रबार समेत सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर