
नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।
प्राधिकरणजस्तो महत्वपूर्ण निकायको नेतृृत्व लामो समय खाली राख्न नहुने भन्दै सचिव घिमिरेले अब प्रक्रिया थाल्न लागिएको बताए ।
‘अहिलेसम्म मन्त्रालयले कुनै खालको प्रस्ताव गरेको छैन, हामी प्रक्रिया अघि बढाएर छिट्टै मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छौं,’उनले भने,‘कसलाई नियुक्त गर्ने भन्ने विषय मन्त्रिपरिषदको हो ।’