नेपाली विद्यार्थीलाई दुबई लगेर ठगी गरेको आरोप, पाँच जना पक्राउ
काठमाडौं । नेपाली विद्यार्थीलाई दुबई लगेर ठगी गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाको नाम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को ‘वान्टेड’ सूचीमा समावेश गरिएको छ।
सिआइबीले यस प्रकरणमा हालसम्म पाँच जनालाई पक्राउ गरिसकेको जनाएको छ भने ढुंगाना सहित केही व्यक्ति फरार रहेका छन्। फरार अभियुक्तलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको सिआइबीका एक अधिकारीले जानकारी दिएका छन्।
प्रहरी अनुसन्धानअनुसार ढुंगानाको मिलेमतोमा नेपाली विद्यार्थीलाई दुबई लगेर कलेजको नाममा ठगी गरिएको देखिएको छ। ढुंगाना काठमाडौंको लाजिम्पाटस्थित कान्तिपुर अब्रोड कन्सलटेन्सी प्रालि का सञ्चालक हुन्।
सोही कम्पनीका अर्का सञ्चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थायी घर भएका ४८ वर्षीय दामोदर ढकाल तथा दार्चुलाको लेकम गाउँपालिका–२ घर भएका ४८ वर्षीय हेमराज भट्टलाई सिआइबीले पक्राउ गरिसकेको छ।
सिआइबीका अनुसार ढकाल र भट्टले नेपालमा विद्यार्थी संकलन गर्ने र ढुंगानाले दुबईमा कलेजको नाममा सञ्चालन गरिएको तालिम केन्द्रमार्फत ठगी गर्ने गरेको खुलेको छ। अष्ट्रेलिया र फ्रान्सका कलेजसँग सम्बन्धन रहेको दाबी गर्दै विद्यार्थीलाई दुबई लगिने तर वास्तविकतामा २–४ कोठा मात्रै रहेको सामान्य तालिम केन्द्रमा पढाइने गरिएको पाइएको छ।
यसरी विद्यार्थीबाट प्रतिव्यक्ति २० लाख रुपैयाँसम्म असुली गरिएको सिआइबीले जनाएको छ। यससम्बन्धमा पीडित विद्यार्थीहरूले करिब तीन महिनाअघि शिक्षा मन्त्रालयमा उजुरी दिएका भए पनि तत्काल कारबाही हुन नसकेको जनाइएको छ।
यस प्रकरणमा बेस्ट पाथ एजुकेशन कन्सलटेन्सी का सञ्चालक कृष्ण थापा, मर्सी एजुकेशन कन्सलटेन्सी का रामचन्द्र टण्डन र सिटीहब एजुकेशन नेटवर्क का सुवास सिलवाल क्षेत्री पनि पक्राउ परेका छन्। अन्य केही कन्सलटेन्सी सञ्चालक फरार रहेका छन्।
यसैबीच, ‘जेन–जेड आन्दोलन’पछि करिब ४०–५० जना नेपालीलाई भिजिट भिसामा विदेश पठाइदिने भन्दै ग्रिनलाइन ट्राभल्स र फिसटेल ट्राभल्स ले ठूलो रकम उठाएर भिसा नलगाई दिएको गुनासो समेत आएको छ। भिसा लगाएर दुबई पुगेपछि स्टाटस परिवर्तन गरेका व्यक्तिहरूको सुरक्षा निक्षेप (सेक्युरिटी डिपोजिट) रकम फिर्ता नगरेको र मानसिक तथा आर्थिक दुःख दिएको आरोप पनि परेको छ।
सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा ती कन्सलटेन्सीहरूले विभिन्न देशका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ गराइदिने आश्वासन दिँदै ठूलो रकम असुल गरेको उल्लेख छ। कलेजको नाममा सञ्चालन गरिएका तालिम केन्द्रहरूले संयुक्त अरब इमिरेट्स (यूएई) को उच्च शिक्षा मन्त्रालयबाट अनुमति नलिएको समेत अनुसन्धानबाट खुलेको छ।
सिआइबीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि संलग्न सबैमाथि कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ।









