
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संरचनामा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने एकमात्र दल माओवादी केन्द्र भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षकै बलमा देशबाट सामन्तवादको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरेका छन्।
उनले युवालाई परिवर्तनको अग्रपङ्तिको शक्तिका रूपमा चित्रण गर्दै देश निर्माणमा अझ सशक्त र रचनात्मक भूमिकाको अपेक्षा पनि गरेका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरवका साथ उल्लेख गरेका छन्, “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नै नेपालको एक मात्र यस्तो राजनीतिक दल हो, जसले पार्टीका सबै तह तथा संरचनामा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ।” उनले युवालाई केवल भविष्यका नेतृत्वकर्ताको रूपमा नभई, वर्तमानको निर्णायक शक्ति र परिवर्तनको अग्रदस्ताका रूपमा स्वीकार गरिएको स्पष्ट पारे।
प्रचण्डले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सक्षम बनाउने विषयमा विशेष प्राथमिकता दिएको समेत उल्लेख गरे।
उनका अनुसार, “युवाहरूलाई स्वरोजगारका अवसर उपलब्ध गराउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने र नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउने महत्त्वपूर्ण पहलहरू गरिएको छ। युवा स्वरोजगार कोषको स्थापना गरी हजारौं युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमार्फत रोजगारीमा जोडिएको छ। साथै, राष्ट्रिय युवा परिषद् गठन गरी युवाको हक, अधिकार र सहभागितालाई नीतिगत तथा संस्थागत आधार प्रदान गरिएको छ।”
अध्यक्ष प्रचण्डले युवा उद्यमशीलता कार्यक्रममार्फत सीप, तालिम र लगानी पहुँचको माध्यमबाट नयाँ पुस्तालाई व्यवसाय सुरु गर्न प्रोत्साहन गरिएको उल्लेख गरेका छन्।स्टार्टअप प्रोत्साहन अभियान र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित “रिटर्नी उद्यमी कार्यक्रम” सुरु गरिएको तर पछिल्ला सरकारहरूले निरन्तरता नदिएको भन्दै खेद व्यक्त गरे।उनका अनुसार, यी कार्यक्रमहरू केवल कागजी योजना नभई हजारौं युवाको जीवनमा वास्तविक परिवर्तन ल्याउने अभ्यास बने।