प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुने भएपछि दलहरू आवश्यक तयारीमा जुट्न थालेका छन् । यो उपनिर्वाचनलाई पुराना र नयाँ दुवैथरि दलले आफ्नो शक्ति परीक्षणको अवसरका रूपमा लिएका छन् ।

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

https://amzn.to/4myfPN5

उपनिर्वाचनलाई दलहरूले २०८४ सालमा हुने निर्वाचनका सन्दर्भमा आफ्नो शक्ति मापन गर्ने अवसरका रूपमा लिनसक्ने प्राध्यापक माधवकुमार पौडेल (बुटवल) को भनाइ छ ।

नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले पनि आसन्न उपनिर्वाचनबाट पार्टीले आफ्नो मूल्याङ्कन गर्ने अवसर पाउने र त्यस आधारमा २०८४ को चुनावका लागि थप रणनीति बनाउने मौका पाउने प्रस्ट पारे ।

नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले केन्द्रीय कमिटीको बैठक साउन ५ गते बस्ने र त्यसपछि उम्मेदवार छनोट विधि निर्धारण गर्दै जिल्लाबाट नाम माग्ने बताए । उनले क्षेत्रीय समिति र जिल्ला समिति हुँदै सम्भावित उम्मेदवारको नाम सिफारिस हुने जानकारी दिँदै एकल सिफारिस भएमा सोही नाम निर्णयसरह हुने, एकभन्दा धेरै भएमा केन्द्रबाट निर्णय हुने प्रस्ट पारे ।

नेपाली कांग्रेसमा सम्भावित उम्मेदवार र कार्यकर्ताको मनोभावना बुझ्न पार्टीका महामन्त्रीहरू साउनको पहिलो सातामै रुपन्देही आउने बताइएको छ । जिल्ला सभापति खाणका अनुसार जनाधार बलियो भएको, पार्टीमा योगदान गरेको आदि आधारमा उम्मेदवार छनोट गर्ने तयारी छ ।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले पनि उम्मेदवार चयन गर्न बाँकी रहेको बताए । सागर ढकाल रास्वपाबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको सन्दर्भमा प्रदेश अध्यक्ष पाठकले भने ढकाल अहिलेसम्म आधिकारिक रूपमा रास्वपाको सदस्य नभएको प्रस्ट पारे । पार्टीले सकेसम्म स्थानीय अनुहार, जनमत भएको, सङ्घीय संसदको भूमिका निर्वाह गर्न सक्ने व्यक्ति नै छान्ने उनको भनाइ छ । उम्मेदवारीका लागि पार्टीले इच्छुकहरूको नाम माग्ने र त्यस आधारमा निर्णय गर्ने उनले खुलाए ।

मधेस केन्द्रित ७ दल मिलेर बनाइएको ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’मा ६ दल एकातिर देखिएका छन् भने एउटा दल आफ्नै उम्मेदवार अघि सार्ने अडानमा छ । मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् ।

मोर्चाका ६ घटकले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय गरे पनि जनमत पार्टी भने आफ्नो छुट्टै उम्मेदवारलाई मैदानमा उतार्ने तयारीमा छ । जनमत पार्टीले सम्भावित उम्मेदवारको नाम संकलन गरिरहेको छ ।

मधेसी मोर्चाका तर्फबाट साझा उम्मेदवारको नाम घोषणा गर्न केही दिन लाग्ने नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश रौनियारले बताए । उनले अहिले चर्चामा आएका आधा दर्जन नामसँगै पार्टीका संरक्षक रेशम चौधरीले केही नाम गोप्य रूपमा सङ्कलन गरेको र आवश्यक छलफलपछि फाइनल गरेर मोर्चामा पठाउने जानकारी दिए ।

उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा रुपन्देही जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । राप्रपाकै नेता तथा २०७९ को निर्वाचनमा रुपन्देही–३ बाटै निर्वाचित दीपक बोहराको निधनपछि हुन लागेको उपनिर्वाचनमा दीपककै दुई छोराको पनि नाम राप्रपाले सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागरप्रताप राणासहित केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई. प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरिएको हो ।

2

राष्ट्रिय जनमोर्चाले भने पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान) लाई उम्मेदवार बनाउने भएको छ । संसदको तेस्रो प्रमुख दल माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकी छ ।

  • बालेनका सल्लाहकार पनि उम्मेदवार बन्ने !

२०७९ को निर्वाचनमा डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडेका सागर ढकाल रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा छ । उनले रास्वपाबाट उम्मेदवारी दिने भनिए पनि पार्टी सदस्यता नै नलिएका कारण अन्योल सिर्जना भएको छ ।

रास्वपाका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले भने, ‘अहिलेसम्म उहाँले हाम्रो पार्टीको सदस्यता लिएको वा हामीसँग मलाई टिकट दिनुप-यो भनेर मागेको अवस्था छैन ।’

पाठकका अनुसार रास्वपाको उम्मेदवार छनोटका लागि बनाइएको कार्यविधिमा आधारित रहेर सकेसम्म स्थानीय व्यक्ति, जनमत भएको, संसदमा राष्ट्रिय एजेन्डा राख्न सक्ने उम्मेदवार छनोट गरिने बताए ।

स्वतन्त्र उम्मेदवारको रूपमा दुई जनाले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समूहबाट पनि रुपन्देहीमा उम्मेदवारी दिने तयारी भएको छ । सोहीअनुसार सर्वेक्षणसमेत भएको छ ।

लामो समयदेखि बालेनको समूहमा काम गरेका रुपन्देही, तिलोत्तमा नगरपालिका–६ पश्चिमपहुनीका ३३ वर्षीय सन्तोष गिरीले बालेनको समूहबाट उम्मेदवारी दिने निश्चितजस्तै रहेको बताइन्छ ।

गिरी विद्यार्थी राजनीतिबाट आएका हुन् । उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिवसमेत थिए । हाल उनी काठमाडौँका मेयर बालेन शाहका सल्लाहकारसमेत हुन् । उनले नेपाल स्विस चेम्बर अफ कमर्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरिरहेका छन् ।

गिरीले अर्थशास्त्रमा एमएका साथै एलएलबी गरेका छन् ।

  • सम्भावित उम्मेदवार को को ?

नेकपा एमालेबाट रुपन्देही–३ मा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । यद्यपि पार्टीले उम्मेदवारबारे औपचारिक निर्णय गर्न बाँकी रहेकाले एमालेका अन्य नेता पनि उम्मेदवार बन्न आ–आफ्नो ढङ्गबाट लागिरहेका छन् ।

भैरहवाका एमाले नेता यज्ञजित शाह, भरत पोखरेल, पूर्वप्रदेश सभा सदस्य दधिराम न्यौपाने, एमाले रुपन्देही उपाध्यक्ष हितराज पन्थी लगायतको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । उम्मेदवारका रूपमा लगभग निश्चित भइसकेका भट्टराई भने राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् ।

नेपाली कांग्रेसबाट भने पूर्वमन्त्री बालकृष्ण खाण उम्मेदवार बन्ने चर्चा छ । यहाँ कांग्रेसबाट पूर्वसांसद प्रमोद यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकालको नाम पनि चर्चामा छ । प्रमोद यादव रुपन्देही क्षेत्र नम्बर ४ मा यसअघि पराजित भएका थिए । भैरहवा निवासी उनले अहिले क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने चाहना राखेको कांग्रेसका नेता तथा कार्यकर्ता बताउँछन् ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले दीपक बोहराका छोराहरू गौरव र प्रज्वलसहित ६ जनाको नाम जिल्लाबाट आएको र अन्य नेताहरूको विषयमा पनि छलफल गर्ने जानकारी दिए ।

यहाँ रास्वपाबाट उम्मेदवारीका लागि आधा दर्जन नाम चर्चामा छ । प्रदेश उपाध्यक्ष सालिकराम घिमिरे, लामो समय गैरसरकारी संस्थामा काम गरेकी भैरहवाकी ज्ञानु पौडेल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल, चिकित्सक डा. योगेन्द्र अग्रहरी रास्वपाबाट उम्मेदवार बन्ने आकाङ्क्षी हुन् ।

माओवादी केन्द्र पनि चाँडै उम्मेदवार छान्ने तयारीमा छ । माओवादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसीले छिटै बैठक बसेर उम्मेदवार छान्ने बताए । उनले पार्टीमा उम्मेदवार बन्न योग्य थुप्रै रहेको बताउँदै विस्तृत छलफल गरी उम्मेदवार छान्ने जानकारी दिए ।

अशोक राई नेतृत्वको जसपाबाट ३ जनाको नाम चर्चामा छ । यद्यपि साउन महिनाको अन्तिम सातासम्ममा उम्मेदवार छनोट गर्ने सो पार्टीका रुपन्देही जिल्ला इन्चार्ज मोहम्मद अलीले जानकारी दिए ।

जसपाबाट पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । उनी अघिल्लो निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोषकुमार पाण्डेयले पराजित गरेका थिए । जसपाबाटै उम्मेदवार बन्ने चर्चामा रहेका अन्यमा जिल्ला इन्चार्ज तथा युवा नेता मोहम्मद अली र युवा नेता तथा समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष असलम अली पनि छन् । जिल्ला इन्चार्ज अलीले पार्टीको विधिअनुसार उम्मेदवार टुंग्याउने बताए ।

जनमत पार्टीले पनि चाँडै उम्मेदवार चयन गर्ने जनाएको छ । सो पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले उम्मेदवार छनोट प्रक्रियामा रहेको खुलाए । अब केही दिनमा उम्मेदवार सार्वजनिक गर्ने उनको भनाइ छ ।

  • स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भेटघाट गर्दै

स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका उम्मेदवार भने मतदातासँग भेटघाट गर्न थालिसकेका छन् । राप्रपा परित्याग गरेका अजय गुप्ताले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनी मतदातासँगको भेटमा आफू व्यस्त हुन थालेको बताउँछन् ।

7

बुटवल–१९ मोतीपुरका युवा लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिइ स्वतन्त्र रहेकाले आफू स्वतन्त्र रूपमै उम्मेदवार बन्ने उनले बताए । उनी पनि अहिले मतदातासँग भेटघाटमा व्यस्त छन् ।

  • मतदाता के भन्छन् ?

रुपन्देहीको सिद्धार्थ नगरपालिका– ६ का विशाल गुप्ता व्यवसायी पनि हुन् । उनी स्थानीय नेता नै उम्मेदवार बन्नुपर्ने बताउँछन् । स्थानीय नेता हुँदा आफ्ना समस्या सुनाउन जनतालाई सहज हुने उनले बताए ।

‘सांसदलाई हामीले सार्वजनिक समस्या पर्दा गुहार्ने हो, त्यो गुनासो सुन्न स्थानीयस्तरकै नेता हुँदा सहज हुन्छ,’ उनले भने, ‘अहिलेसम्म जितेका सांसदको कुरा गर्ने हो भने त उनीहरूका पीएले फोन उठाउँछन् । जनताले आफ्ना कुरा तिनै पीएमार्फत सुनायो । त्यसपछि कुनै वास्ता हुँदैन ।’

पार्टीभन्दा माथि उठेर स्थानीय समस्या, देशको अर्थतन्त्रसँग जोडिएका समस्या, जस्तैः विमानस्थल सञ्चालन, बेरोजगारी समस्या समाधान गर्न सक्ने खालको मान्छे उम्मेदवार बन्नुपर्ने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा–१४, पाहुनीका ५५ वर्षीय रामसुभग थारुलाई उपनिर्वाचन घोषणा भएको थाहा भए पनि त्यति धेरै चासो छैन । आफ्नो तीन बिघा खेतका लागि मलखाद र रोपाइँको चिन्ता रहेको उनले बताए ।

चुनावको समयमा नेताहरू आएर देखेजति सबै समस्या समाधान गरिदिन्छु भन्ने तर चुताव जितिसकेपछि कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको थारुले बताए ।

collage

सियारी गाउँपालिका–६ बर्मेली टोलका बलराम न्यौपानेले मुलुकमा भ्रष्टाचार बढेको टिप्पणी गर्दै सुशासन र रोजगारीमैत्री समाज निर्माणमा केन्द्रित हुने उम्मेदवार आवश्यक पर्ने बताए ।

बुटवल उपमहानगरपालिका–१९, रानीबारीका दुर्गाबहादुर थापा अटो चलाएर परिवारको गुजारा गर्दै आएका छन् । उनी रुपन्देही–३ बाट चुनाव जितेर गएकाहरूले निम्नस्तरका जनतालाई केन्द्रमा राखेर काम गर्न नसकेको बताउँछन् ।

अहिले पनि सङ्घीय सरकारअन्तर्गतको बेलबास–बेथरी सडक अझै अधुरै रहेको उल्लेख गर्दै थापाले स्वास्थ्य र शिक्षामा सामान्य नागरिकको सहज पहुँच बनाउने नेता आफ्नो रोजाइमा पर्ने बताए ।

सियारी गाउँपालिका–७ का रिजत गौतमले खासगरी जुनसुकै पार्टीको उम्मेदवार भए पनि शिक्षित, देशको समस्या बुझेको हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै केही रोजगारमूलक काम गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

  • कुन दलको जनमत कति ?

रुपन्देही–३ मा कुन दलको जनमत कति छ भन्ने बुझ्न समानुपातिक मतलाई एउटा आधार मान्न सकिन्छ । किनकि, प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रायः दलहरूले तालमेल गरेर उम्मेदवार खडा गरेका कारण सो उम्मेदवारले पाएको मत ऊसँग सम्बन्धित दलको मात्र हो भनेर बुझ्न मिल्दैन ।

दीपक बोहरा ०७९ को निर्वाचनमा विजयी हुँदा पनि उनलाई एमालेले समेत सघाएको थियो । यस्तै, कांग्रेस र माओवादी केन्द्रबिच यसअघि यहाँ तालमेल भएको थियो ।

ccप्रत्यक्षतर्फको मत

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक वसन्तराज खनालका अनुसार विगतका चुनावमा कुनै न कुनै दलले अर्को दलसँग तालमेल गरेका कारण प्रत्यक्षतर्फको निर्वाचनमा कसले जित्यो र कसले हा¥यो भन्ने विषयले सम्बन्धित दलको जनमत प्रस्ट हुन सक्दैन । त्यसैले समानुपातिक मतका आधारमा विश्लेषण गर्नु उचित हुने उनले बताए ।

२०७९ सालको चुनावमा रुपन्देही–३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । यस्तै एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत थियो । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा जितेको राप्रपाले भने समानुपातिकमा जम्मा ९ हजार १८३ मत पाएको थियो ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी नेपालले ५ हजार मत पाएको थियो । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टीले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत समानुपातिकतर्फ पाएका थिए ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । उपनिर्वाचनका लागि मतदाता संख्या अद्यावधिक भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । Rato pati

प्रतिक्रिया

सम्बन्धित खवर