काठमाडौँ – आज वैशाख शुक्ल तृतीयाका दिन हिन्दू धर्मावलम्बीहरूले अक्षय तृतीया पर्व मनाउँदैछन्। गर्मीको मौसममा शरीरलाई शीतलता प्रदान गर्ने सातु र सर्वतको दान तथा सेवन गरी यो पर्व मनाउने परम्परा छ।

शास्त्रीय विधानअनुसार, आज बिहानै उठी घर लिपपोत गरी स्नानपछि पूजासामग्री तयार पारेर सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखी भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पूजा गरेर शुद्ध जलमा दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।

https://amzn.to/4myfPN5

धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, जौको सातु र सर्वत गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो। यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।

पौराणिक मान्यताअनुसार, सत्ययुगमा आजकै दिन महादेव र पार्वतीको विवाह भएको विश्वास गरिन्छ। त्यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ। यस दिन गरिएको शुभ कर्म कहिल्यै नाश नहुने भएकाले यस तिथिलाई ‘अक्षय तृतीया’ भनिएको हो।

आजको दिन वृद्धवृद्धालाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई समेत गरिन्छ।

अक्षय तृतीया पर्वले ऋतुअनुसार खानपान गर्न सिकाउने सन्देश पनि दिन्छ। ग्रीष्म ऋतुमा शरीरलाई शीतलता प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्नु उपयुक्त मानिन्छ, जसमा सातु र सर्वत प्रमुख छन्। यस पर्वले स्वास्थ्य रक्षा र धार्मिक आस्थाको सन्देश दिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर