
सोमबार माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेर सरकारप्रति गहिरो असन्तोष प्रकट गरे। कालो कपडामा बेरिएका उनीहरूको स्वर र पीडाले राजधानीको मुटु हल्लाइदियो।
यो प्रदर्शन केवल सडकमा चिच्याइएका नाराहरू थिएनन्, यो सरकारको निकम्मापन, असंवेदनशीलता र जनताप्रति रहेको चरम बेवास्ताको प्रत्यक्ष प्रमाण थियो। अर्धनग्न भएर सडकमा आउनु कुनै सामान्य असन्तुष्टि होइन — यो जनताको धैर्यताको अन्तिम सीमा पार भएको संकेत हो।
सहकारीको नाममा हजारौँ नेपाली नागरिकहरू ठगिए। आफ्नै पसिनाको गाढा रकम गुमाएर न्यायको खोजीमा भौतारिएका नागरिकहरूलाई बेवास्ता गर्नु, अनि त्यहीँ नागरिकहरू अर्धनग्न भएर सडकमा चिच्याउँदा पनि सत्ता मौन बस्नु, लोकतन्त्रको लज्जाजनक पराजय हो।
आजको यो दृश्यले सरकारलाई एउटा कठोर सन्देश दिएको छ — तपाईंहरू अब जनताको आँखामा विश्वसनीय छैनौँ। जनताको आक्रोशको आवाज अब दबाउने होइन, सुनिने चरणमा प्रवेश गरिसकेको छ। सरकारको कमजोरी लुकाएर होइन, पीडितका आँसु पुछेर मात्र यो संकट हल गर्न सकिन्छ।
यदि यति ठूलो संकेतलाई पनि सरकारले बेवास्ता गर्यो भने, त्यो दिन टाढा छैन जब सडकका यी चित्कारहरू एउटा सशक्त आन्दोलनमा परिणत हुनेछन्।
सत्तामा बस्न चाहनेहरूले थाहा पाउनुपर्छ ,जनताको पीडा अपमानित गरेर टिकाइने सत्ताले धेरै दिन आफ्नो शिर उठाउन सक्दैन। चेतना भया!
– राष्ट्र डेली डट कम्