
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका छन् कि, अहिले पनि लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने प्रयास भइरहेका छन्।
सर्लाहीको मलंगवामा आयोजित तराई-मधेश अभियानको सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी तत्वहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेका बताएका छन्। उनले भने, “यसको विरोधमा संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ, र त्यस अवस्थामा काठमाडौंका सडकमा लाखौं जनता फेरि उत्रिनेछन्।”
अध्यक्ष प्रचण्डले तराई-मधेशका जनतालाई संघर्षका लागि आह्वान गर्दै भने, “यस अभियानको उद्देश्य जनशक्ति निर्माण र आवश्यकता पर्दा सडकबाट चुनौती दिने हो।”
उनले यो अभियान तराई-मधेशका जनताको वास्तविक आवश्यकतासँग मेल खाने बताएका छन्। “हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताका समस्याहरू—किसान, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम समुदायका मुद्दाहरू—बुझ्नका लागि यो अभियान सुरु गरिएको हो,” प्रचण्डले भने।
प्रचण्डले यस अभियानलाई केवल भाषणको लागि नभई जनताको आर्थिक, राजनीतिक र सांस्कृतिक समस्याहरूलाई नजिकबाट बुझ्ने अवसरका रूपमा लिएको बताए। “हामी यस अभियानको माध्यमबाट यहाँका जनताको समस्याहरूलाई केन्द्रित गर्दै राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यमा लागेका छौं।”
तराई-मधेशको विकास, सिँचाइ, मलखाद, रोजगार, पर्यटक, सीमा क्षेत्र लगायतका समस्याहरूलाई आफ्नो पार्टीले सदनमा उठाउने प्रचण्डले बताए। “हामी तराई-मधेशका जनताका समस्याहरूलाई राष्ट्रिय स्तरमा स्थापित गर्दै, सरकारलाई दबाब दिइ समस्याहरूको समाधान गर्ने प्रयासमा छौं।”
अध्यक्ष प्रचण्डले भने, “माओवादीको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित गरेको छ। मिडिया पनि अब मधेशतिर झर्दैछन्। प्रमुख नेताहरू मधेश नआई अब शान्ति नपाउने स्थिति आएको छ। यो तराई-मधेशी जनताका लागि गर्वको कुरा हो।”