राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनबाट परिवर्तन जन्मिएरै छाड्ने प्रतिक्रिया दिएका छन् ।

बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा चितवनलाई देवभूमि भएकाले यही भूमिबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त रहेको जिकिर गरे ।

‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । देवताजस्ता मान्छे बस्ने ठाउँ हो यो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु,’ सभापति लामिछानेले भने, ‘अहिले कुम्भमेला चलेको छ भनिएको छ । हाम्रो देवघाटमा स्नान गर्नु भनेको कुम्भमेलामा सयौंपटक स्नान गर्नु बराबर हो भनेर सयौं मान्छेले भनेका छन् । त्यस्तो ठाउँ हो यो ठाउँ ।’

साथै, उनले अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरे ।

‘यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको छ । अघिल्लो निर्वाचनमा नै व्यक्ति चुनेको होइन । देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ,’ रविले भने ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको एकल इजलासले उनलाई ५४ ला रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर