जि.के. पाण्डे
हिन्दुहरुको ठूलो चाड “बडा दशैँ”ले बिस्तारै गाउँ शहर,साना ठुला सबैलाइ आफ्नो सम्मोहनमा पार्दै छ।
विगतमा भन्दा केही लामो बर्षातले निम्त्याएका प्राकृतिक विपद एवं असहजताका बाबजुद स्वदेश तथा बिदेशबाट आफन्तहरु दशैँ मान्न गाउँ फर्किने तरखरमा छन भने कोहि गाउँ आइपुगेका छन।
नेपालीको आँगनमा दशैँ भित्रिएको चार पाँच दिन भइसकेको छ तर पनि केही बर्ष यताको दशैँले किनकिन पहिलेको जस्तो सबैको मनलाई फुरुङ्ग बनाउन सकेको छैन।हिजोआज गाउँमा पहिलेको जस्तो दशैँको रंग,रौनक देख्न महसुस गर्न पाइएको छैन।
सोर्ह श्राद्दसंगै विराउदी र भार्से पहिरोमा रातोमाटो,कमेरो लिन जाने सल्लाह र घर आँगन लिपपोत त बजारमा छ्याप्छ्याप्ती पाइने नानाथरी पेन्टको आगमनसंगै गाँउलेको लागि किम्वदन्ती बनिसकेको छ।
दशैँको लागि रानीबनबाट ल्याएका सालका पातबाट खुटिने दुना टपरी हिजोआज बजारमा सहजै पाइने पेपर प्लेट,काँटा चम्चाले इतिहास बनाइदिएको छ। घटस्थापनाको एक दुई दिन अगाडी नै गाउँभरिका भेला भएर पल्लो गाउँसम्म पुग्ने बाटो वरिपरिको झाडी सफा गर्ने,बाटो खन्ने चलन त पालिकाको स्काभेटरको आशा खेतीमै लोप भएर गएको छ।
बर्षको एकदिन पैतालाले धर्ती छोड्नुपर्छ भन्ने संस्कृति अनुसार गाउँ नजिकैको खुला चौरमा लिङ्गे पिङको लागि मुडुले भिरको बाबियो र साङ्लुङ्ग खोल्साको बाँस काट्न समुह बनाएर काममा लाग्ने अधिकांश दाजुभाइ दिदिबहिनी हिजोआज परदेशबाट फेसबुकको भित्तामा गाँउको तस्बिर हेरेर गह भिजाउँछ्न,भिडियो कलबाटै “बा आमाको” हातको टिका थापेर गाँठो परेको मन बुझाउँछन। यता छोराछोरीसंगै दशैँ मनाउने आशामा घर आउने बाटोतिर नजर बिछ्याएर बसेका “बाबुआमा” गएको साल जस्तै निराश बनाएर दशैँले बिदा नमागोस भनेर आलमदेवी पुकारेका छन।
दशैँ सुरु भएसंगै टोलैपिच्छे झण्डीबुर्जामा दाउ लगाउने उमेर समुह हिजोआज टिकटक र फ्री फायरको प्राविधिक संसारबाट आफूलाई बाहिर निकाल्न सकेका छैनन। अहिले गाउँमा न बा अनि काकाहरुको तासको खालमा चिया लगिदिने नातिनीहरु छन न त खालको नजिकै उभिएर भेस्टिङ्ग उठाउने नातिहरु नै। दशैँ मान्न गाउँ आएका बखत एकैठाउँ भेला भएर अग्रजहरुका संघर्ष,अप्ठेरो र विगतका कथा कहानी सुन्ने ठिटाठिटीको खडेरी पर्दै गएको छ।दशैँ मान्न गाउँ आएका केहीलाइ त एकान्तमा पाकेको खसीको भुटनसंगै गिलास ठोक्काउने “सेन्तेरेम” समुह बाहेक अरु गाउँलेले दर्शनसम्म नपाउने अवस्था छ।
टिकाको अघिल्लो दिन आँगन छेउको चुल्होमा पाक्ने सेलरोटी पहिले भन्दा स्वादिलो नै पाकेपनि ताइबाट निकाल्न नपाउँदै सेल चाख्न हात अगाडी बढ्ने हातहरुको घट्दो संख्याले दशैँलाइ बर्सेनि फिका अनि रंगहीन बनाउदै लगेको छ।
तर अझै गाउँले आशाको टुकी निभाएको छैन। पुनः शुदिन आउनेछ घर अनि आँगनले आफ्नाहरुको स्पर्श महसुस गर्नेछन। घर नजिकैको चौरमा पहिले जस्तै लिङ्गेपिङ ठडिनेछन,रानिबनका कलिला सालका पातबाट फेरि पनि “शिरमा रिबन सलको पछ्यौरी” गुन्जिनेछन।
टोलैपिच्छे झण्डीबुर्जामा दाउ लगाउनेको तछाडमछाड देखिने छ। बा आमा”ले छोराछोरी बिनाको फिका दशैँ मनाउनु पर्ने छैन।गाउँमा प्राण भरिने छ र विजया दशमी साच्चिकै दशैँ बन्नेछ।
तर खै…………….
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आफन्तजनलाइ बडादशैँको हार्दिक मंगलमय शुभकामना।