काठमाडौं । ‘बल्ल तीज लागे जस्तो भो’ विष्णु माझीको गीत सार्वजनिक भएलगत्तै ओइरिएको प्रतिक्रिया हो यो । तीजको सन्दर्भमा उटपट्याङ गीतहरुले होहल्ला मच्चाइरहँदा अनायास विष्णु माझीको सुरिलो भाका गुञ्जिएको थियो । जसै उनको आवाज गुन्जियो, अरु तीज गीत लाखापाखा लागे । तब पारखीहरु भन्न लागे, ‘अब पो तीज सुरु भयो ।’

तीज र विष्णु माझी एकापसमा पर्याय जस्तै छन् । जब जब गाउँशहरलाई तीजले छोप्न थाल्छ, विष्णु माझीको सुरिलो भाकाले त्यसमा रौनक थपिदिन्छ ।

सबैलाई थाहा छ, बितेको दुई दशकदेखि अविच्छिन्न नेपाली लोक गायनको अग्रस्थानमा छिन् उनी । पाँच हजार बढी गीतमा आवाज दिएकी छिन् । त्यसमध्ये धेरैजसो गीत सर्वाधिक रुचाइएका छन् । युट्युबको करोड क्लबमा पुगेर गीतले कीर्तिमान बनाएका छन् ।

धेरैलाई थाहा छैन,उनी कहाँ बस्छिन् ? कस्तो जीवनशैली अपनाउँछिन् ? आफ्नो गायकी र संगीतको विषयमा कस्तो धारणा राख्छिन् ?

किनभने उनको जीवन रहस्य र गुपचुपमा छ । चर्चाको शिखरमा छिन्, तर गुमनाम पनि । करिअरको सुरुवातीदेखि नै भूमिगत जीवन बाँचिरहेकी छिन् उनी । दुई दशकदेखि निरन्तर चर्चामा रहँदा पनि न उनी कतै देखा पर्दिनन् । वर्षमा आउने एकाध गीत बाहेक उनी कतै सुनिंदिनन् । न कतै सार्वजनिक कार्यक्रममा नै देखा पर्छिन्, न मिडियामा नै देखिन्छिन् । न त उनको रहस्यमय जीवनबारे धेरै कुरा बाहिर नै आउँछन् ।

धेरै वर्षदेखि गायिका विष्णुको गुमनाम जीवनमाथि उठिरहेको प्रश्न हो, उनको भूमिगत जीवन स्वेच्छा हो कि परिबन्ध ?

आजसम्म पनि यो प्रश्नको जवाफ अनुत्तरित छ ।

कस्तो थियो उनको बाल्यकाल ?

स्याङ्जाको चापाकोट नगरपालिका-८ खोरियाघाट हो विष्णु माझीको जन्मघर । सन् १९८६ जुनमा जन्मिएकी उनका एक दाइ र बहिनी छन् । उनका दाइ गाउँमै छन् भने बहिनी जीवन माझी पनि गायिका हुन् । केही वर्षअघिमात्र उनका बुबा–आमा दुवैको मृत्यु भएको थियो ।

सानैदेखि गाउँघर र स्थानीय लोकदोहोरी गीत प्रतियोगितामा गीत गाउँथिन् । स्वर सुरिलो र मीठो थियो । तर विष्णुको घरको आर्थिक अवस्था भने एकदमै कमजोर । त्यही कारण कक्षा ९ भन्दा माथि पढ्न पाइनन् उनले ।

मीठो गाउने भएकाले विष्णु १३ वर्षकै उमेरदेखि लोकगीत प्रतियोगिताहरुमा भाग लिन थालेकी थिइन् । उनको स्वरबाट प्रभावित थिए, गायक नारायण लेकाली । उनको घर विष्णुको गाउँदेखि केही परको अर्को गाउँमा थियो । नारायण गीत गाउनुका साथै लोकदोहोरी प्रतियोगिता पनि आयोजना गरिरहन्थे । उनैले विष्णुलाई गायन क्षेत्रमा ल्याए । विष्णुलाई लोकगीत प्रतियोगिताहरुमा नारायणले लिएर जान्थे । ती सबैजसो प्रतियोगितामा विष्णु प्रथम हुन्थिन् ।

तर विष्णुको जीवनमा तब अर्को मोड आउँछ, जब उनको भेट पोखेरेली गायक सुन्दरमणि अधिकारीसँग हुन्छ । गायक लेकालीका अनुसार विष्णु र सुन्दरमणिको भेट २०६१ सालमा लेकालीले पाल्पा उद्योग वाणिज्य महासंघले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा भएको थियो । सुन्दरमणि पनि प्रतियोगितामा सहभागी हुन पुगेका थिए । प्रतियोगितामा विष्णु दोस्रो भइन् भने सुन्दरमणिले कुनै स्थान जित्न सकेनन् ।  त्यसैबेला विष्णुको स्वरबाट सुन्दरमणि प्रभावित भएका थिए । गीत गाउने गरेपनि सुन्दरमणि चिनिन सकेका थिएनन् ।

त्यसको केही समयपछि पोखरामा लेखनाथ महोत्सवमा हुँदै थियो । जसमा विष्णु र सुन्दरमणि भाग लिन सहभागी हुँदै थिए । विष्णुको प्रतिभा देखेका सुन्दरमणिले नारायण लेकालीसँग आफ्नो जोडी बनाइदिन आग्रह गरे । ‘सुन्दरमणिले विष्णुसँग जोडी मिलाइदिन भनेर भनेको भन्यै गरे’ लेकालीले एक अन्तर्वार्तामा भनेका छन्, ‘त्यो बेला विष्णुसँग जोडी मिलाइदिन भनेर धेरै नै हत्तै गरेपछि मैले मानें ।’

नारायणले विष्णुको परिवारसँग आफू जिम्मा बसेर सुन्दरमणिसँग उनलाई प्रतियोगितामा सहभागी हुन भनेर पठाएका थिए । सुन्दरमणिले एक हप्ताका लागि भनेर लेखनाथ महोत्सवमा विष्णुलाई लिएर गए । विष्णुको साथले जितिन्छ भन्ने थाहा पाएका सुन्दरमणि ढुक्क थिए । नभन्दै भयो त्यही । महोत्सवमा आयोजित लोकगीत प्रतियोगितामा सुन्दरमणि र विष्णुको जोडी पहिलो भयो । त्यही बेला विष्णुको साथले आफ्नो करिअर पनि उचाइमा पुग्छ भन्ने सुन्दरमणिले बुझे ।

एक साताका लागि भनेर विष्णुलाई लिएर गएका उनी डेढ वर्षपछि मात्र घर फर्काए । प्रतियोगिता जितेपछि सुन्दरमणिले विष्णुलाई काठमाडौं ल्याएका थिए । त्यती बेला उनी मात्र १५ वर्षकी थिइन् । त्यसको एक वर्षपछि मात्र पोखराको एक प्रतियोगितामा विष्णु र सुन्दरमणिलाई भेटेका थिए नारायणले । त्यसपछि भने विष्णुसँग कहिल्यै भेट नभएको उनी सुनाउँछन् ।

कसरी सुरु गरिन् गायन ?

काठमाडौं आएपछि सुन्दरमणिले विष्णुलाई आफैंसँग राखे । परिवारसँग पनि सम्पर्कमा आइनन् उनी । तर सुन्दरमणिले विवाह भने गरेका थिएनन् । काठमाडौं आइसकेपछि विष्णुको व्यावसायिक गायन यात्रा सुरु भयो । सुरिलो स्वरकी धनी विष्णु सबैको नजरमा परिन् । विस्तारै विष्णुका गीतहरु हिट हुँदै गए । उनको व्यस्तता बढ्न थाल्यो । त्यतिबेला नेपाली लोकसंगीतमा बीमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, सिर्जना विरही थापा, शर्मिला गुरुङ जस्ता समकालीन गायिकाहरुलाई पछि पार्दै विष्णु अगाडि बढ्दै गइन् । उनको माग यसरी बढ्यो कि त्यसबेला दिनमै ६-७ वटा गीत रेकर्ड गराउन थालिन् ।

२०६४ सालसम्म आइपुग्दा उनी चर्चाको शिखरमा पुगिन् । त्यसपछिका दिनमा लोकगीतमा उनको एक किसिमको राज नै चल्यो । शीतलदेखि पीपल सामी छ, ड्राइभर दाइ मन पर्‍यो मलाई, लालुपाते झुक्यो भुईंतिर, ए आमा हो, पछ्यौरी लेऊ बैना, कसलाई सोध्ने होला जस्ता गीत उनका लोकप्रिय भए ।

कुन गीत गाउने, कुन नगाउने सबै निर्णय सुन्दरमणिले नै गर्थे । एकपछि अर्को गीत हिट दिइरहे पनि विष्णु भने करिअरको सुरुवाती दिनदेखि नै ‘भूमिगत’ थिइन् । विष्णुको सबै जिम्मेवारी भने सुन्दरमणिले नै सम्हाल्थे । संगीतकारहरुले विष्णुलाई गीत गाउन लगाउनुपरे सुन्दरमणिसँग नै डिल गर्थे । पारिश्रमिक पनि उनी नै बुझ्थे । आज पर्यन्त पनि यो क्रम जारी छ ।

सुन्दरमणि विष्णुलाई कसैसँग भेट गर्न पनि दिंदैनथे । अरुसँग बोलेको पनि मन पराउँदैनथे । विष्णु पनि खासै नबोल्ने स्वभावकी रहेको उनीसँग काम गरेका संगीतकर्मीहरु बताउँछन् ।

उनी सुन्दरमणिको पछि लागेर स्टुडियोमा गीत रेकर्ड गर्न पुग्थिन् । ‘पछ्यौरीले मुख छोपेरै गीत रेकर्डका लागि आइपुग्थिन्’ उनी निकट गायक भन्छन्, ‘रेकर्ड गर्न आउँदा पनि उनी धेरै बोल्दैन थिइन् ।’

यो क्रम पछिसम्म पनि चलिरह्यो । विष्णु गुमनाम जीवन नै बाँचिरहिन् । तर उनले एकपछि अर्को हिट गीत दिइरहिन् । पछिल्लो समयसम्म आइपुग्दा सालको पात, चरी जेलैमा जस्ता गीत उनका निकै लोकप्रिय भए । यो वर्ष मात्रै उनले लिएर आइन् तीज गीत- ‘आइन आमा यो तीजैमा’ ।

कस्तो रह्यो वैवाहिक सम्बन्ध ?

सुन्दरमणिले गायिका विष्णु माझीलाई पोखराबाट काठमाडौं ल्याएर आफूसँगै राखे पनि विवाह गरेका थिएनन् । करिब आठ वर्ष उनीहरु लिभिङ टुगेदरमा बसे । यसबीच विष्णु घर पनि गइनन् ।

‘धेरै वर्षसम्म अविवाहित नै बसे’ उनी निकट एक गायिका भन्छिन्, ‘आठ वर्षपछि मात्र उनीहरुले विवाह गरे ।’ पोखरा पुगेर दुवैले मन्दिरमा गुपचुप विवाह गरे ।

विष्णुको परिवार स्रोतका अनुसार विष्णु विवाहपछि घर आएकी थिइनन् । ११ वर्षपछि मात्रै बाबु ताराबहादुर माझीले छोरीसँग भेट्न पाएका थिए ।

नजरबन्द’ विरोधाभास

गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै मंगलबार संसदमा प्रश्न समेत उठ्यो । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरे । ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेक मनले भनेको छ । कुनै उपाय छ भने धारणा छ भने कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’

माझीको गुमनाम जीवनबारे कुरा उठेको पहिलो पटक होइन । लामो समयदेखि गुमनाम जीवनमा बाँचिरहेकी गायिका विष्णु सार्वजनिक हुनुपर्छ भनेर कुराहरु उठ्दै आइरहेका छन् । तीन वर्षअघि आएको  ‘चरी जेलैमा’ गीतलाई भने गायिका विष्णुकै जीवनसँग पनि जोडेर हेरिएको थियो ।

वर्षमा एकपटक आउने तीज गीत बाहेक उनको बोली समेत सुन्न पाएका छैनन् श्रोताले । न त उनी कतै सार्वजनिक कार्यक्रममा नै देखिएकी छन् । जबकि उनी देशभित्रका कन्सर्ट, मेला महोत्सवमा मात्र हैन, विदेशमा समेत उनको माग छ । करिअरको शिखरमा पुग्दाताका पनि उनी कतै जाँदैनथिइन् ।

सामाजिक जीवनमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि कुनै अकाउन्ट छैन विष्णुको । न त उनीसँग फोन नै छ । उनको देख्न पाइने भनेको वर्षौं पुरानो एक तस्वीर मात्रै हो ।

विष्णुको रहस्यमयी जीवनबारे उनका श्रीमान् सुन्दरमणिमाथि प्रश्न उठ्दै आएको छ । सुन्दरमणिले नै उनलाई बन्धक बनाएको भनेर धेरैले आशंका गर्ने गरेका छन् । नजिकबाट चिन्नेहरु भन्छन्, ‘सुन्दरमणि उनलाई कतै लिएर जान चाहँदैनन् । बाहिर निस्कन पनि दिंदैनन् । अरुसँग बोल्न पनि दिंदैनन् । बोलेको पनि मन पराउँदैनन् ।’

श्रीमानमाथि शंका गरिनुको स्वाभाविक कारण पनि छ । अरु बेला देखा नपरे पनि उनी गीत रेकर्डिङका लागि कोही नआउने समय राति स्टुडियो जान्छिन् । पछ्यौरीले मुख ढाकेर गीत गाउँछिन् । सुन्दरमणिले नै उनलाई स्टुडियो लिएर जान्छन् र फर्कंदा पनि सँगै फर्किन्छन् । विष्णुको अगाडि पछाडि सधैं सुन्दरमणि हुन्छन् । अरु त अरु विष्णुसँगै सयौं गीत गएका गायकहरु पनि उनीसँग विष्णुको राम्रोसँग कुरा हुन नपाएको बताउँछन् । विष्णु माझीसँग थुप्रै गीतमा सहकार्य गरिसकेका गायक कुलेन्द्र विश्वकर्मा आफ्नो विष्णुसँग कहिल्यै लामो कुराकानी नभएको सुनाउँछन् ।

विष्णुको गुमनाम जीवनबारे संगीत क्षेत्र र मिडियामा बेलाबखत पनि प्रश्न उठिरहन्छन् । उनका श्रीमान् सुन्दरमणिले नजरबन्द गरेको आरोप पनि बेलामौकामा लाग्छ । तर यसबारे न सुन्दरमणि नै बोल्छन् न त विष्णु नै । तर विष्णुको भूमिगत जीवन स्वेच्छिक कि नजरबन्द भन्नेमा नै ठूलो विरोधाभास देखिन्छ ।

कतिपय कलाकार विष्णुको भूमिगत जीवन स्वेच्छिक भएको बताउँछन् भने कतिपय यसलाई सुन्दरमणिको परिबन्ध भएको बताउँछन् । यसमा कलाकर्मीहरुको समेत फरक-फरक मत देखिन्छ ।

धेरै वर्ष पहिले विष्णु माझीकै गाउँका गायक भगवान भण्डारीले उनको फोटो राख्दै गुमनाम जीवनबारे लामो स्टाटस लेखेका थिए । उनले विष्णु सानैदेखि खुलेर नबोल्ने लजालु स्वभावकी भएकी लेखेका थिए । उनले लेखेका थिए, ‘साथीहरूले कर गरेपछि मात्रै घरबाहिर निस्किने यिनको स्वभाव थियो । कतै कार्यक्रममा बोलाए पनि जान्नथिन् । गाउँमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देख्दिनथें । त्यसैले मेरो विचारमा अहिले उनी जे जसरी छिन्, आफ्नै स्वाभाव र इच्छाको कारण हो जस्तो लाग्छ ।’

विष्णुसँगै काम गरेका कतिपय संगीतकर्मी पनि उनको स्वभाव लजालु रहेको बताउँछन् । ‘उनी नजरबन्दमा छैनन् । त्यो उनको व्यक्तिगत रोजाइ हो’ विष्णुकै समकालीन एक गायिका भन्छिन्, ‘यो उनीहरुको व्यक्तिगत जिन्दगी हो । यसमा टिप्पणी गर्न जरुरी छैन ।’ अरु समकालीन संगीतकर्मी पनि उनीहरुको जीवनबारे पनि खासै बोल्न चाहदैनन् । विष्णुको कुरा आयो कि उनीहरु पन्छिन खोज्छन् ।

सुन्दरमणि आफैंमा सर्जक हुन् । विष्णुले गाएका धेरैजसो गीत उनले लेख्छन् । सुन्दरमणिलाई चिन्नेहरु पनि बन्धक बनाएर नराखेको बताउँछन् । बरु विष्णुको व्यावसायिक सफलताको कारण पनि सुन्दरमणि नै भएको बताउँछन् । ‘विष्णु आज जहाँ छिन्, एक्लो प्रयासले पुगेकी हैनन् । त्यो ठाउँमा पुर्‍याउन सुनदरमणिको ठूलो हात छ,’ विष्णुसँग थुप्रै गीत गाएका एक गायक भन्छन् ।

कतिपय कलाकारहरु भने यसलाई मान्दैनन् । उनीहरु सुन्दरमणिकै कारण विष्णु भूमिगत जिन्दगी बाँच्नु परेको बताउँछन् । केही वर्षअघि मात्र गीतकार बादल घिमिरेले फेसबुकमा विष्णुको जीवनको रिमोट सुन्दरमणिको हातमा भएको लेखेका थिए । घिमिरेले लेखेका थिए, ‘विष्णुको जीवनको रिमोट नै सुन्दरमणिको हातमा छ । लाग्छ, विष्णुले श्वास फेर्न पनि सुन्दरमणिकै अनुमति लिनुपर्छ । हुन त केही वर्ष अगाडि सुन्दरमणिले विष्णुसँग बिहे गरे भन्ने सुनियो । तर आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न बाध्य पार्ने अधिकार श्रीमानसँग हुन्छ ? विष्णु सुन्दरमणिको नजरबन्दमा छिन् ।’

घिमिरेले एउटा स्टाटसमा विष्णुको रहस्यमा जीवनबारे बाहिर ल्याउन खोज्दा आफूमाथि धम्की समेत आएको भनेर पनि लेखेका थिए । ‘मेरो घरबाट विष्णुको घर करिब १५ मिनेटको दूरीमा पर्छ । विष्णुको स्वर नसुन्ने त यो देशमा विरलै होलान् । तर उनको भूमिगत जिन्दगीका बारेमा कमैलाई थाहा छ । आखिर विष्णुलाई कसले यस्तो बनायो ? उत्तर : सुन्दरमणिले । विष्णु गीत गाउँछिन्, सुन्दरमणि पैसा बुझ्छन्,’ उनले लेखेका थिए ।

घिमिरेले भने झैं विष्णुको भूमिगत जीवनलाई बन्धक भनेर आशंका गर्ने केही प्रश्न छन् । जस्तो कि, विष्णुकै स्वेच्छा भए पनि उनी बाहिर आएर यसबारे नबोल्नु । विष्णुकोबारे बोल्दा सुन्दरमणि तर्कनु । मिडियादेखि दूरी बढाउनु । लामो समयसम्म माइती नजानु आदि ।

६ वर्षअघि विष्णुका बुवाले ११ वर्षसम्म छोरीलाई भेट्न नपाएको भन्दै एक दैनिक पत्रिकामा समाचार प्रकाशित भएपछि विष्णुलाई सार्वजनिक गर्नुपर्छ भन्ने बहस चर्को रुपमा उठेको थियो ।

उनको भूमिगत जीवनबारे निकै आवाज उठेपछि स्याङजाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सुन्दरमणिलाई विष्णुलाई लिएर उपस्थित हुन भनेर बोलाए । प्रहरी प्रशासनको निकै दबाबपछि अन्ततः सुन्दरमणिले विष्णुलाई लिएर २०७५ पुसमा स्याङ्जाको जिल्ला प्रशासन पुगे । सुन्दरमणि अधिकारी सहित उनका बाबु ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी जिल्ला प्रशासन कार्यालयमा गएका थिए ।

त्यतिबेला पनि विष्णु टाउकोमा पछयौरी, मुखमा मास्क, ओभर कोट र कम्मरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर पुगेकी थिइन् । करिब डेढ घण्टा प्रशासन कार्यालयमा छलफलमा एक राष्ट्रिय कलाकार गुमनाम हुनुको कारणबारे प्रहरीले सोधेको थियो । विष्णु स्वयंले यसबारे बोल्न भनेको थियो ।  उनले आफू बन्धक नभएको र आफू स्वेच्छाले त्यसरी बसेको पनि बताएकी थिइन् । तर उनी धेरै बोलिनन् । बरु सुन्दरमणिले नै स्वेच्छा हो भन्दै चर्को स्वरमा बोलेका थिए । छलफलमा सोधिएका प्रश्नको जवाफ सुन्दरमणिले नै दिन्थे ।

छलफलपछि पत्रकारसँग बोल्दै तत्कालीन स्याङ्जाका प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले प्रश्नमा आउने जवाफ र उनीहरू आउँदा जाँदाको अवस्था हेर्दा विष्णु माझी स्वतन्त्र छन् भनेर भन्न नसकिने बताएका थिए । छलफलपछि विष्णु र सुन्दरमणिले पनि पत्रकारसँग बोल्न मानेनन् ।

विष्णुलाई संगीतमा ल्याउने लोकदोहोरी गायक नारायण लेकाली विष्णुको गुमनाम जीवन स्वेच्छा नभएर परिबन्द भएको बताउँछन् ।

उनका अनुसार विष्णु स्वभावले उनी केही लजालु थिइन् । तर १५ वर्षकै उमेरमा उनी प्रत्यक्ष लोकदोहोरीमा सहभागी हुन्थिन् । ‘त्यतिबेला उनी दोहोरी गाउन जिल्ला बाहिर जान्थिन्’ उनी भन्छन्, ‘सयौं दर्शक र निर्णायकसामु निडर भएर गीत गाउँथिन् । त्यो बेला उनीसँग अगाडि आएर गीत गाउन थालिसकेकी थिइन् । अहिले आएर सकिनन् भनेर कसरी पत्याउनु ?’

उनले यतिका वर्षसम्म विष्णु सार्वजनिक रुपमा गीत गाउन अभ्यस्त समेत भइसकेकी हुन्थिन् । जबकि उनी भन्दा धेरैपछि गायनमा आएका कलाकार पनि देश-विदेश गाउँदै हिंड्छन् । लेकाली भन्छन्, ‘जबसम्म विष्णु माझी सार्वजनिक रुपमा बोल्दिनन्, तबसम्म उनका श्रीमानमाथि प्रश्न उठाउने ठाउँ रहिरहन्छ ।’

अनलाईन खवर डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर