तीजलाई केन्द्रित गरेर यस वर्ष ३ सय हाराहारी गीत सार्वजनिक भए। त्यसमध्ये धेरै गीतको लगानी बालुवामा पानीसरह भयो।

केही गीतले भने स्रोता–दर्शकको मन जित्दै युट्युबमा पनि राम्रो भ्युज पाए।

यहाँ तीजको अघिल्लो दिन (बिहीबार) सम्म युट्युबमा सर्वाधिक हेरिएका पाँच गीतहरू उल्लेख गरिएको छ।

१. आइनँ आमा यो तीजमा
विष्णु माझीको स्वर रहेको यो यस वर्षको सबभन्दा हिट तीज गीत हो।

गीतलाई रिलिजको २४ घण्टामा १५ लाखपटक हेरिएको थियो। ९ दिनमा करोड क्लबमा प्रवेश गरेको गीतलाई बिहीबार दिउँसोसम्म १ करोड २६ लाखपटक हेरिएको छ।

यसमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत, आशिष अविरलको एरेन्ज छ। ललिता पौडेल फिचर्ड भिडिओ सुन्दरमणिको निर्देशन, मौसम हिमालीको कोरियोग्राफीमा तयार भएको हो।

२. काली पसम कि
शान्तिश्री परियारको स्वरमा सार्वजनिक यो गीतलाई ६२ लाखभन्दा बढी पटक हेरिएको छ। यसमा प्रेम सापकोटा सोनुको शब्द र संगीत छ। बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

जेरी भण्डारीको निर्देशन रहेको भिडिओमा स्मारिका ढकाल र जोन बम ठकुरी छन्।

३. मै लुरी
पशुपति शर्मा र प्रिया भण्डारीको स्वर रहेको ‘मै लुरी’ लाई युट्युबमा ६० लाख पटक हेरिएको छ। यसको शब्द र संगीत गायक शर्मा स्वयंको हो। एरेन्ज विश्वास नेपालले गरेका हुन्।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओमा पशुपति शर्मा र जुना विश्वकर्माले नृत्य गरेका छन्।

४. मन परेको मान्छे
यो गीतमा एलिना चौहानको स्वर छ। गीतलाई युट्युबमा ५५ लाख पटक हेरिएको छ। यसको शब्द नेत्र अर्यालको हुन् भने संगीत दिपक शर्माको छ। एचबिएन किस्मतले एरेन्ज गरेका हुन्।

भिडिओमा अञ्जली अधिकारी फिचर्ड छिन्। भिडिओ विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशनमा बनेको हो।

५. बरिलै
समीक्षा अधिकारीको स्वरमा रहेको ‘बरिलै’ लाई ५३ लाखभन्दा बढी पटक हेरिएको छ। यसको शब्द र संगीत विमल अधिकारीको हो। एरेन्ज कमल सौरागले गरेका छन्।

भिडिओमा विमल अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन्। शंकर बिसीले भिडिओको कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर