रामचन्द्र नेपाल

बेलायतमा पछिल्लो केही दिनदेखि हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले यहाँका नेपालीलाई आग्रह गरेको छ ।

दूतावासले मंगलबार एक अपील जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका सबै नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

दूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै, बेलायतस्थित नेपाली संघ संगठनहरुलाई समेत आफ्नो संस्था-समुदायमार्फत नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन एवं समन्वय गर्न दूतावासले आव्हान गरेको छ । बेलायतमा विकसित वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको दूतावासको भनाइ छ ।

दूतावासले कुनै सहयोग आवश्यक परेमा निम्नानुसारको टेलिफोन नम्बर वा इमेलमार्फत् सम्पर्क गर्न अनुरोध गरको छ । टेलिफोनः 02072291594, 07404939274 इमेल: info@nepembassy.org.uk, eon@nepembassy.org.uk एक साताअघि तीन जना बालिकाको ज्यान जाने गरी भएको चक्कु आक्रमणपछि बेलायतका कयौं क्षेत्रमा प्रदर्शन एवम् हुलदंगा भइरहेका छन् ।

आप्रवासीविरोधी ‘इंग्लिस डिफेन्स लिग’ ले ठाउँठाउँमा प्रदर्शन गरेको छ भने उसको विरोधमा समेत काउन्टर प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शनकै वहानामा कयौं क्षेत्रमा चोरी र लुटपाट पनि हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर