भेपमा लुकाएर भएको भनिएको सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवा हुँदै काठमाडौँ ल्याउने क्रममा जनयुद्धका अर्का सहकर्मी नेत्रविक्रम चन्द विप्लवसँग जम्काभेट भएको छ।

कपिलवस्तुको शिवगढी गृहनगर भएका नेकपा महासचिव विप्लव सोमबार बिहान श्री एयरलाइन्सको जहाजमार्फत अन्य नेतासहित काठमाडौं आउने तयारीमा थिए।

त्यही क्रममा प्रहरीले महरालाई पनि विमानस्थलको भीआईपी कक्षमा ल्याइपुर्‍यायो। त्यसबेलासम्म विप्लवले महरा पक्राउ परेको सूचना पाएका थिएनन्।

भीआईपी कक्षमा विप्लवलाई देखेपछि प्रहरीको घेरामा रहेका महराले सोधे, ‘कता हिँडेको विप्लव कमरेड?’ त्यसपछि विप्लवले जवाफ दिए, ‘‘काठमाडौंतिर जाँदैछु।’

महरा पक्राउ परेको थाहा नपाएका विप्लवले तत्कालै सोधे, ‘तपाईं कता हिँड्नु भयो?’, त्यसपछि महराले नढाँटी विप्लवलाई जवाफ दिए, ‘मलाई त साथीहरू (प्रहरी)ले लिएर हिँडे।’

१० वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा यी नेता निक्कै चर्चित थिए। महरा प्रवक्ताका रुपमा सञ्चारमाध्यममा छाइरहन्थे। उता विप्लव माओवादीको फौजी कमान्ड सम्हालेर चर्चामा थिए।

विप्लव र महराबीच करिब ५ मिनेट अनौपचारिक संवाद चल्यो। त्यसपछि महरालाई सुरक्षाकर्मीले अलग्गै राखे। ‘तपाईं (विप्लव) सरको जहाज पनि आयो’, भन्दै प्रहरीले विप्लवलाई अर्को भीआईपी कक्षमा सारिदिए।

त्यहाँ विप्लवसँग रहेका नेताहरूले महराको स्वास्थ्यमा पनि चासो राखे। सोधियो, ‘दाइ बिरामी हो र?’

जवाफमा महराले खानासमेत नपाएकाले आफू भोकै रहेको जवाफ दिए। त्यसपछि विमानस्थलको भीआईपी कक्षमै उनका लागि बिस्कुट वा पाउरोटी र चिया मगाइयो।

महराले भोक लागेको बताएपछि आएको चिया र बिस्कुट पनि खान पाएनन्। सुरक्षाकर्मीले उनलाई जहाज आइसकेको बताउँदै बिस्कुट र चिया खान नदिई लिएर हिँडे।

महरालाई यती एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइयो भने विप्लव श्री एयरको जहाजबाट संघीय राजधानी आइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर