बढ्दो अतिक्रमणले एतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पदा संरक्षणमा चुनौती देखिएको तानसेनमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गको नेतृत्वमा पाल्पा आएको टोलीले विशेषगरी तानसेन नगरपालिकाभित्र रहेका सम्पदाको अध्ययन, अनुगमन, निरीक्षण र अवस्थाको विश्लेषणपछि सरोकारवालालाई जानकारी उराउने उद्देश्यले आयोजित छलफल कार्यक्रमका सहभागीले यस्तो कुरा उठाएका हुन ।
कार्यक्रममा पुरातत्व विभागका बरिष्ठ अधिकृत राम बहादुर कुँवरले जिल्लाको एतिहासिक तथा पुरातात्विक महत्वका सम्पादाहरुको अवस्था विश्लेषण गर्दा प्राप्त नतिजा बारे जानकारी गराउनुभएको थियो । उहाँले सम्पदाको अतिक्रम बढ्दो रहेकोले यो तत्काल रोक्नुपर्ने बताउनुभयो । पाल्पा दरवार संग्राहलय परिसर , अमरनारायण मन्दिर क्षेत्र, भगवती मन्दिर, श्रीनगर, रानीघाट दरबार, रुरु क्षेत्रको ऋषिकेश मन्दिर तथा अन्य सम्पदामा प्राचीन स्मारक संरक्षण ऐन २०१३ बिपरितका काम भैरहेको बरिष्ठ अधिकृत कँवरले जानकारी दिनुभयो । अन्य सम्पदासंगै बजार क्षेत्रमा रहेका पुराना घरहरुलाई पनि संरक्षण गर्नेगरी तानसेनले योजना बनाउन उहाँले आग्रह गर्नुभयो ।
छलफलमा सहभागी सरोकारवालाहरुले पछिल्लो समय सम्पादको अतिक्रमण सरकारी क्षेत्रबाटै हुँदै आएको बताएका थिए । उनीहरुले सम्पदा संरक्षण र व्यवस्थापनको काम गर्दा विभागको प्रत्यक्ष निगरानी आवश्यक पर्ने भएपनि त्यसो नहुँदा र सम्बन्धित स्थानीय निकायसंगको परामर्शमा काम नुहँदा थप समस्या देखिएको बताए । पाल्पा दरबार संग्राहलय परिससरलाई तयार भएको गुरु योजना अनुसार १९९५ सालकै स्वरुपमा लैजानुपर्नेमा सहभागीहरुले जोड दिए । जसका लागि दरबार परिसरका सबै सरकारी संरचनाहरु तत्काल हटाउनुपर्नेमा जोड दिएका थिए । यस्तै रानीघाट दरबार क्षेत्रको जग्गाको एकिन गरी अतिक्रमण भए नभएको बारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने सहभागीको भनाइ थियो ।
पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले सम्पदाको संरक्षणका सवालमा स्पष्ट गुरु योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले विकासका नाममा सम्पदा थप जोखिम रहेकोले सम्पदाको महत्वलाई बुझ्न र बुझाउन जरुरी रहेको बताउनुभयो ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले सम्पदा संरक्षण र व्यवस्थापनका विषयमा सहयोग र सहजीकरण हुने बताउनुभयो । उहाँले छलफलले पुरातात्विक महोत्वका सम्पदाहरुको संरक्षणमा सहमती र सहकार्यका साथ काम गर्ने निश्कर्ष निकालेको जानकारी दिनुभयो ।