१४ श्रावन २०७८, बिहिवार
अर्घाखाँचीको जिल्ला अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले दुर्व्यवहार गरेका छन् ।
पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकी आमालाई उपचार गर्ने क्रममा बिरामीका आफन्तले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. कपिल गौतमसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको अस्पतालले बताएको छ ।
निमित्त मेसु डा गौतममाथि अपशब्द तथा अनादारार्थी शब्दहरु प्रयोग गरी बिरामीका आफन्तले उनलाई केहीबेर एम्बुलेन्समा थुनेको आरोप अस्पतालले लगाएको छ । अस्पतालले विहीबार प्रेश विज्ञप्ती जारी गर्दै अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र निमित्त मेसु गौतमद्वा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ-‘डा कपिल गौतम एम्बुलेन्सभित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाउँदै गरेको अवस्थामा एम्बुलेन्सको ढोका लगाइ ‘यो डाक्टरको काम छैन, यसलाई पनि काठमाडौं लैजान पर्छ, विरामीसँगै जान्छ’ जस्ता अभद्र अपशब्द प्रयोग गरी गाडीचालकलाई तुरुन्तै गाडी हिडाल भनी दवाद दिइएको थियो ।’
केही समय एम्बुलेन्सभित्र थुनिएपछि अन्य व्यक्तिहरुको मद्धतले एम्बुलेन्सको ढोका खुलेपछि डा गौतम बाहिर निस्किन पाएको अस्पतालले बताएको छ ।