१० श्रावन २०७८, आइतवार

सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् ।

खोप लगाउन नपाउँदा अधिकांश कामदार वैदेशिक रोजगारमा जान पाएका छैनन् ।

अधिकांश श्रम गन्तव्य मुलुकले तोकिएको खोप नै लगाउनुपर्ने बाध्यता छ । साउदी, कतारलगायत मुलुकले अमेरिकी खोप जोन्सन एन्ड जोन्सन, भारतीय खोप कोभिडसिल्डलगायत खोप अनिवार्य गरेका छन् ।

यस्तै, अन्य मुलुकले पनि सोहीअनुसार खोप तोकेका छन् । तर, नेपालमा तोकिएको खोप पर्याप्त मात्रामा छैन ।

त्यसको असरले पनि वैदेशिक रोजगारमा जाने कामदारले सहज रूपमा खोप लगाउन पाएका छैनन् । फलस्वरूप उनीहरू समयमा वैदेशिक रोजगारमा जान नपाउने अवस्था आएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप नपाएर अलपत्र परेका वैदेशिक रोजगारमा जाने कामदारको भीड बाक्लो हुने गर्छ । उनीहरूले बारम्बार खोपको व्यवस्था गर्न माग गर्दै आएका छन् । तर, सम्बद्ध निकाय भने यस विषयमा अझै उचित निर्णय गर्न सकेको छैन ।

स्रोतका अनुसार वैदेशिक रोजगारमा जानेलाई लक्षित गरेर छुट्टै खोप केन्द्र बनाउने मामलामा स्वास्थ्य मन्त्रालयमा पनि निर्णय भइसकेको छ । तर, त्यो अझै आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

वैदेशिक रोजगारमा जाने कामदारका लागि टेकुसहित सिभिल अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु र पाटन अस्पतालमा रहेका खोप केन्द्रलाई सञ्चालन गर्नेे निर्णय भइसकेको बताइएको छ । सम्भवतः यो यसै साता कार्यान्वयन लैजान सकिने स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर