२९ आषाढ २०७८, मंगलवार

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ ।  दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई व्युँताएको हो ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघ अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरे।

माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिए युथफोर्स पुनः मुलुकको लागी आवश्यक परेको भन्दै व्युँताएको हो । युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितीमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डकै जस्तै काम गर्ने दाबी गरिएको छ ।

युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकतावद्ध बनाई परिचालन गर्ने भएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेवेलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेवेको संयोजकत्ममा ५०१ केन्द्रीय कमाण्ड रहने संघले जनाएको   छ । त्यस्तै युथ फोर्सले देशभर १७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १५० वटा उपत्यका वाहिर रहने छन् । जसको मुख्य कमाण्ड पार्टीको निर्देशन अनुसार संघका अध्यक्ष पौडेलले गर्ने भएको छ ।

युथ फोर्स गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने बताए ।

जनतामा जाने निर्णयलाई परमादेश जारी गर्दै अदालतले नाङ्गो नाँच देखाएको उल्लेख गर्दै शेरबहादुर देउवाले प्रतिनिसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने बताए । विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा पुनः निर्वाचनमा नै जाने अवस्था आएको खण्डमा प्रधानमन्त्री ओलीको जनादेशमा जाने निर्णयलाई उल्ट्याउने सर्वोच्चका न्यायाधिसहरुले जनताको माँझमा माक्र्स लगाएर हिड्ने दिन एक महिना भित्रमा नै आउने आक्रोस जनाए ।

उनले भने, ‘शेरबहादुर देउवाले विश्वासको मत पाउन सक्नुहुन्न । त्यसपछि केपी ओलीले गरेको निर्णय पुनः खड्किएर आउनेछ । एक महिनपछि पुनः संसद विघटन गरि निर्वाचनमा जानुपर्ने अवस्था आएपछि सर्वोच्चका न्यायाधिसहरु कुन माक्र्स लगाएर हिड्नुहुन्छ ? त्यो दिन चाँडै आउँदैछ ।’

प्रधानमन्त्री ओली तथा एमाले वालुवाटारबाट बालकोट जाने नभई जनताको माझमा जाने स्पष्ट पार्दै नेता बस्नेतले जनताबाट अनुमोदित भई अबको ६/७ महिनामा पुनः एमालेले मुलुकको नेतृत्व गरी सिंहदरवार प्रवेश गर्ने उद्घोष गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर