२८ आषाढ २०७८, सोमवार
मुगु जिल्लाको सोरु गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । जनप्रतिनिधिबीच विवाद हुँदा गाउँसभा अन्योलमा परेको छ
यसअघि असार २० गतेका लागि गाउँसभा तोकिएको थियो । तर एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथिको टुंगो नलाग्दा गाउँसभा हुन नसकेको हो ।
एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपालबहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको हो ।
असार १० गतेभित्रै गाउँसभा सम्पन्न गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल भएको कर्मचारीको भनाइ छ । जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिकाले मात्र बजेट अधिवेशन गर्न सकेको छैन ।
विवादकै कारण गाउँपालिकाले अहिलेसम्म प्रशासनिक भवन निर्माण गर्न सकेको छैन । सबै वडा भवनविहीन छन् । गत वर्ष पालिकामा करिब ४० करोड रुपैयाँ विनियोजन भएको थियो ।