
२७ आषाढ २०७८, आइतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभाव नहुने बताएका छन्।
‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो,’ प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’ प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि बताए।
‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’
यसअघि वीर अस्पताल प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा छ । अस्पतालको प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई सरकारले नियुक्त गरेको छ ।