
कान्तिपुर दैनिक
पत्रपत्रिकावाट
२६ आषाढ २०७८, शनिवार
पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका करिब आधा दर्जन विषयमा सहमतिको मस्यौदा तयार गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग गरिएको हस्ताक्षर फिर्तामा नेता माधव नेपालको समूह नमानेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय भने टुंगिन बाँकी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय पनि दुई नेताबीचकै सहमतिबाट मात्र टुंगिनेछ ।
मस्यौदामा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग परामर्श गरेर शनिबार औपचारिक सहमतिपत्र तयार गर्ने कार्यदल सदस्यहरूको तयारी छ । शुक्रबार सात घण्टाभन्दा बढी बसेको बैठकमा जुटेको सहमतिले एमालेको आन्तरिक विवादलाई किनारा लगाउनेमा कार्यदलका नेताहरू विश्वस्त देखिन्छन् । उनीहरूको प्रतिक्रिया विगतको भन्दा बढी सकारात्मक छ । तर यसअघि नेताहरूबीच भएका भनिएका सहमति अन्तिम अवस्थामा भाँडिएका उदाहरण पनि छन् ।
कार्यदल सदस्यहरूका अनुसार शुक्रबार पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो । यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । ‘एकतापूर्वको केन्द्रीय कमिटीलाई मानेर जाने र योग्यतम् कमरेडहरूलाई समावेश गर्ने भन्नेमा सहमति जुटेको छ,’ कार्यदलका एक सदस्यले भने । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।
कार्यदलका एक नेताका अनुसार पूर्वमाओवादी नेता र खनाल–नेपाल पक्षका पुराना र अनुभवी नेतालाई विधि र प्रक्रिया पुर्याएर केन्द्रीय कमिटीमा राख्ने सहमति भएको छ । पहिला केन्द्रीय कमिटी बसेर त्यसले विधि र प्रक्रियाबारे निर्णय गर्नेछ । तर त्यसपछि केन्द्रीय कमिटी कति सदस्यीय बन्ने भन्नेमा यकिन छैन ।
दुवै पक्षका नेता सम्मिलित कार्यदलका सदस्यले ‘पार्टी र संसदीय दल संस्थागत हिसाबले चल्ने’ भन्नेमा सहमति गरेका छन् । कार्यदलका एक सदस्यका अनुसार पार्टीको नवौं महाधिवेशनबाट पारित कार्यदिशा र विधानलाई २०७५ जेठ २ मा फर्केर पालना गर्ने भन्नेमा पनि दुवै पक्ष मञ्जुर छन् । ‘सहमति कार्यान्वयनका लागि विधानमा व्यवस्था’ गरेर जाने भन्नेमा पनि मत मिलेको छ । ‘सहमति कार्यान्वयनका लागि आवश्यक परे विधान महाधिवेशन गर्न तयार हुने सहमति भएको छ,’ कार्यदलका ती सदस्यले भने । विधान महाधिवेशन ओली पक्षले एकलौटी रूपमा घोषणा गरिसकेको थियो । यो घोषणाप्रति खनाल–नेपाल समूहले आपत्ति जनाइरहेको थियो ।
कार्यदल तहमा सहमति जुटेको अर्को विषय हो– विगतका कमीकमजोरीलाई बिर्सेर पार्टी भावनात्मक हिसाबले एकताबद्ध गर्न समग्र पार्टी पंक्तिलाई आह्वान गर्ने । पार्टी एकताको प्रतिकूल हुने निर्णयहरू कायम नरहने भन्ने सहमति पनि कार्यदल तहमा जुटेको छ । यसअघि ओली पक्षले तल्लो तहसम्मका नेता–कार्यकर्तालाई पार्टीविरुद्ध लागेको भन्दै कारबाही गरेको थियो । यस्ता कारबाही एकताको प्रतिकूल हुने भएकाले सच्याउने सहमति बनेको छ । सहमति जुटेका विषयको भाषामा शनिबार केही परिमार्जन हुन सक्ने कार्यदलका सदस्यले बताए ।
प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा भने कस्तो धारणा राख्ने भन्ने विषयमा लामो गृहकार्य र छलफलबाट पनि कार्यदल तहमा सहमति जुट्न सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित दायर रिटमा प्रयोग भएका एमालेका २३ पूर्वसांसदको हस्ताक्षर फिर्ताको विषय भने ‘बन्द’ भएको छ । हस्ताक्षर फिर्तामा नेपाल पक्ष तयार छैन । फिर्ता नै नभएको अवस्थामा पनि मुद्दाबारे समान धारणा बनाउने र यसका लागि सहमतिको भाषामा के लेख्ने भन्नेमा कुरा मिल्न बाँकी रहेको छैन । साझा भाषाको सन्दर्भमा शनिबार बस्ने बैठकले निष्कर्ष निकाल्ने नेताहरूको दाबी छ । ‘हस्ताक्षर फिर्ताको त च्याप्टर क्लोज भइसक्यो । प्रतिनिधिसभा विघटन र मुद्दाका सन्दर्भमा साझा भाषाको गृहकार्य भइरहेको छ । त्यसमा पनि शनिबार टुंगोमा पुग्छौं,’ कार्यदलका ती सदस्यले भने ।
कार्यदल सदस्य प्रदीप ज्ञवालीले पार्टीको भविष्य के होला भन्ने नेता–कार्यकर्ताको चिन्तालाई अन्त्य गर्ने गरी शनिबार सहमतिका साथ टुंगोमा पुर्याउने बताए । ‘करिब सात घण्टाको बसाइपछि पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषय मात्र बाँकी छन्,’ उनले भने । कार्यदलका अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै विषयमा सहमति जुटेको र बाँकी विषय शनिबार टुंग्याउने बताए । ‘छलफल गर्दै जाँदा समय अभाव भयो । बाँकी रहेका विषय भोलि टुंग्याउँछौं । हामी सहमति गर्छौं,’ उनले भने ।
दोस्रो तहका नेताहरूको सक्रियता र निरन्तरको अनौपचारिक छलफलपछि अध्यक्ष ओली र नेता नेपालले डेढ महिनादेखि निष्क्रिय कार्यदललाई सोमबारदेखि सक्रिय बनाएका थिए । कार्यदलकै पहलमा बुधबार अध्यक्ष ओली र नेता नेपाल वार्तामा बसेका थिए । बिहीबार ओली र नेपाललाई पुनः वार्तामा बसाउने उनीहरूको योजना थियो । तर ठोस प्रगति नभएपछि उनीहरूबीच पुनः छलफल भएन । शनिबार सबै विषयमा सहमति जुटे ओली र नेपालबीच पुनः वार्ता गराउने तयारी कार्यदल सदस्यहरूको छ ।
कार्यदलको दौडधुप
आइतबार : बिहान ओलीपक्षीय नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल छोटै भए पनि एकताको सन्देश जाने गरी संयुक्त (ओली–नेपाल) वक्तव्य जारी गर्ने प्रस्ताव लिएर नेपाल निवास पुगे । तर नेपालले यस्तो वक्तव्य कार्यदल सक्रिय बनाएर त्यहाँ सहमति जुटाएपछि मात्र जारी गर्न सकिने जवाफ दिए । त्यसै राति आफ्नो सरकारी निवासमा प्रधानमन्त्री ओलीले नेपालपक्षीय नेता भीम रावलसँग भेट गरे । नेताहरूका अनुसार यही भेटमा ओली कार्यदल ब्युँताउन तयार भए ।
सोमबार : डेढ महिनादेखि निष्क्रिय बनेको कार्यदलको बैठक सिंहदरबारमा बस्यो । कार्यदल सदस्यहरूले बैठकमा लामो समयदेखि अनौपचारिक तहमा भएका प्रयास र विषयवस्तुमा प्रारम्भिक छलफल गरे । कार्यदल सदस्यहरूले अनौपचारिक संवादमा गरेको सहमतिको प्रारम्भिक मस्यौदा बैठकमा औपचारिक रूपमा पेस गरियो । साँझ ओली र नेपालबीच फोन संवाद भयो ।
मंगलबार : कार्यदलको दोस्रो बैठकमा सहमतिको प्रारम्भिक मस्यौदालाई एजेन्डा बनाएर छलफल सुरु भयो । सदस्यहरूले धारणा राखे पनि कुनै बुँदामा सहमति जुटेन ।
बुधबार : सहमति जुटाउन कार्यदलको बैठक बस्यो । बैठकपछि नेताहरूले धेरै विषयमा सहमतिनजिक पुगेको र अर्को दिन अन्तिम रूप दिइने प्रतिक्रिया दिएका थिए । बैठकपूर्व कार्यदल सदस्यहरूले रावललाई दुई नेता (ओली–नेपाल) बीच भेटको वातावरण बनाउन जिम्मा दिएका थिए । त्यसैअनुसार उनले कोटेश्वरस्थित नेपाल निवास पुगेर ओलीसँग भेटका लागि ‘कन्भिन्स’ गराए ।
साँझ ओली र नेपालबीच नक्सालस्थित एक होटलमा करिब एक घण्टा भेटवार्ता भयो । सुरुमा नेताहरू ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसहित वार्ता भयो जहाँ कार्यदल सदस्यहरूले आफूहरूको तहमा भएको प्रगतिको ब्रिफिङ गरेका थिए । पछि ओली र नेपाल एक्लाएक्लै वार्तामा बसे । त्यस दिन दुईपक्षीय नेताबीच सरकार र पार्टीमा शक्ति बाँडफाँटको विषयले प्रवेश पाए, सहमति जुट्न सकेन ।
बिहीबार : नेताहरूले बुधबार दिएको प्रतिक्रियाका कारण यस दिनको बैठकलाई चासोपूवर्क हेरिएको थियो । बिहीबारको कार्यदल बैठकपूर्व नेपाल पक्षबाट कार्यदल संयोजक रावल र ओलीपक्षीय कार्यदल सदस्य विष्णु पौडेलबीच सिंहदरबारमा केहीबेर छलफल भयो । त्यसलगत्तै बसेको कार्यदल बैठक ठोस एजेन्डामा प्रवेश नगरी साँझसम्मका लागि स्थगित भयो । त्यसपछि ओलीपक्षीय सदस्यहरूले बालुवाटार र नेपालपक्षीय सदस्यहरूले सिंहदरबारमा छलफल गरेका थिए ।
आफ्नो समूहमा छलफलपछि कार्यदलको बैठकमा उनीहरू जुटे । तर पौडेल मन्त्रिपरिषद् बैठकमा गएपछि साँझको बैठक पनि एजेन्डामै प्रवेश नगरी टुंगियो । बैठकपछि कार्यदल सदस्य घनश्याम भुसालले दस दिनयता कार्यदलमा नयाँ केही प्रगति नभएको प्रतिक्रिया दिएका थिए । सहमतिलाई अन्तिम रूप दिने कोसिस भइरहेको दाबी भएकै बेला सदस्यहरूबाटै आएको फरक–फरक प्रतिक्रियाले संशय पैदा गरेको थियो ।