२२ आषाढ २०७८, मंगलवार
नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ ।
कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । (सोमवार) हिजो साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो ।
आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् ।
यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो ।
माधव नेपाल पक्षले निःसर्त रूपमा पार्टीलाई २०७५ सालको जेठ २ गते अघिकै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै ओलीले आत्मालोचना गर्नुपर्ने पनि नेपाल पक्षको माग छ ।
तर प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय मान्दै पार्टीमा फर्कन निर्देशन दिँदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।
विवाद मिलाउन गठन भएको दश सदस्यीय कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहको तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।