२२ आषाढ २०७८, मंगलवार

पत्रपत्रिका
नयाँ पत्रिका दैनिकवाट

नौ दिनदेखि हराएकी राप्ती नगरपालिका– ३ की सुजिता भण्डारीको शव जंगलमा भेटिएको छ ।

परिवारले उनको हत्या भएको आशंका गरेको छ ।  स्थानीय ब्रह्मास्थानी सामुदायिक वनमा आइतबार बेलुका उनको शव भेटिएको हो ।

च्याउ खोज्न गएका स्थानीय सीताराम चेपाङले शव देखेर प्रहरीलाई जानकारी गराएकोमा सुजिताकै शव भएको सनाखत भएको हो ।

२३ वर्षकी भण्डारी गत ११ असारको बिहान घरबाट निस्केकी थिइन् ।

करिब डेढ किलोमिटरको दूरीमा रहेकी साथीको घरमा तरकारी लिन भनेर गएकी उनी त्यसयता बेपत्ता थिइन् ।

त्यही दिन दिउँसो दिदीले फोन गर्दा उनले आफ्नो अपहरण भएको बताएकी थिइन् । तर, पछि मोबाइलमा सम्पर्क हुन सकेको थिएन । त्यसयता प्रहरीबाट समेत उनको खोजतलास हुँदै आएको थियो ।

त्यो दिन उनी साथीको घर पनि नपुगेको र कसैले अपहरण गरेको हुन सक्ने परिवारले जनाएको छ ।

परिवारका अनुसार बिहान ५ देखि ६ बजेको बीचमा उनी घरबाट निस्किएकी थिइन् ।

त्यो दिन घरबाट निस्कनुअघि उनको कसैसँग कुरा भएको थिएन । अघिल्लो दिन बेलुका नै उनले भोलिपल्ट बिहान आफू साथीकोमा जाने बताएकी थिइन् ।

रोपाइँका खेतालालाई तरकारी लिन उनी साथीकोमा गएको सुजिताका बुबा यज्ञप्रसाद भण्डारीले बताए ।

घर नफर्किएपछि दिदी कविताले बिहान करिब १० बजेतिर उनलाई फोन गरेकी थिइन्, तर फोन उठेन । भोलिपल्ट आफ्नो मोबाइलमा सुजिताको मिस्डकल देखेपछि फोन गर्दा आफूलाई आँखामा पट्टी लगाएर गाडीमा अपहरण गरेको बताएकी थिइन् ।

दुईजना महिला र एकजना पुरुषले राप्ती– ३ को सिमरा चोकबाट अपहरण गरेको कुरा उनले फोनमा भनेको कविताले बताइन् । लगत्तै प्रहरीलाई जानकारी गराइएको परिवारले जनाएको छ । तर, पछि परिवारलाई कतैबाट फोन नआएकाले अपहरणको सम्भावना कम रहेको प्रहरी आकलन छ ।

सुजिताको फोनको अन्तिम लोकेसन राजमार्गदेखि दक्षिणतर्फ देखिएपछि त्यतैतर्फ खोजी गरेको थियो ।

तर, नौ दिनपछि शव भने पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फको जंगलमा भेटिएको हो । उनको शव भएको ठाउँ पुग्न राजमार्गको झुरझुरेदेखि करिब तीन किलोमिटर कच्ची सडक पार गरेर आधा घन्टा उकालो उक्लिएपछि मात्र पुगिन्छ ।

अपहरणमा परेको भनेर सुजिताले बताएपछि ११ गते नै गाउँमै आतंक मच्चिएको थियो ।

शवको पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले प्राविधिक अनुसन्धान पनि गरिरहेको छ । साथै सुजिताका साथी र केही शंकास्पद व्यक्तिहरूलाई समेत सोधपुछ गरेको छ ।

घटना रहस्यमय, शवसँगै भेटियो बोतल

सुजिताको शवसँगै एउटा बोतल, तीन सय २० रुपैयाँ नगद, एउटा च्यातिएको झोला र उनको मोबाइलको ब्याट्री भेटिएको छ । बोतलमा केही तरल परार्थ भेटिएको छ, जुन विषादी हुन सक्ने प्रहरीको आकलन छ ।

तर, मृतकको शव हिलो र पानीले असर गर्दा उक्त बोतल भने सफा अवस्थामा भेटिएकाले शंका बढेको स्थानीयको भनाइ छ । उनको मोबाइल भने अझै भेटिएको छैन ।

यता बेपत्ता युवतीको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरी स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग सोमबार दिनैभरि अवरुद्ध गरे ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछने, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराललगायतका स्थानीय जनप्रतिनिधि, प्रहरीलगायतको लिखित सहमतिपछि शव साँझ ६ बजेतिर पोस्टमार्टमका लागि लैजान दिइएको थियो ।

हत्या नै भएको परिवार र आफन्तको दाबी
परिवार र स्थानीय सुजिताको हत्या नै भएको बताउँछन् । उनीहरूले सुजिताको मृत्युको घटनालाई पनि निर्मला पन्तको जस्तै गरी ‘डिसमिस’ पार्ने कोसिस भइरहेको आशंका गरेका छन् ।

सुजिताकी आमा अम्बिका भण्डारीले भनिन्, ‘मेरी छोरीलाई अपहरण गरिएको जानकारी प्रहरीमा गराउँदा पनि खोजतलासमा गम्भीरता देखाएन ।

आज प्रहरीले राम्रोसँग खोजेको भए मेरी छोरीको यो अवस्थामा भेटिँदैनथिन् होला ।’

प्रहरीले भने आफूहरूले अनुसन्धानमा ढिलासुस्ती र बेवास्ता नगरेको बताएको छ ।

‘उजुरी आएलगत्तै प्राविधिक विश्लेषण गरी अनुसन्धान गरिहेका छौँ । पहिले नै अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट समेत टोली खटिएको छ ।’ चितवनका एसपी ओमप्रसाद अधिकारीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर