जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षमा रहेका प्रदेश २ का प्रदेशसभा सदस्यहरु अलपत्र परेका छन् । ठाकुर पक्षमा रहेका केही प्रदेश सांसद उपेन्द्र यादवका पक्षमा लागेका छन् भने बाँकी सांसद अलपत्र परेका हुन् ।

ठाकुर पक्षका प्रदेश २ का सांसद विक्की यादवले फेसबुकमै आफ्नो असन्तुष्टि पोखेका छन् । उनले भनेका छन्, ‘जसपा अन्तरर्गत राजपा खेमाका नेतृत्वका असक्षमताको कारण पार्टी गतिहीन र दिशाविहीन, राष्ट्र राजनीति, संगठन बनाउने अथवा जनताको बीचमा जाने स्पष्ट दृष्टिकोण वा ठोस योजना नभएको कारण प्रदेशसभा सदस्यलगायत नेता कर्याकर्ताहरु अलपत्र अवस्थामा ।’

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई निश्काशन गरेर काँग्रेसलाई सामेल गरी मन्त्रिपरिषद्लाई हेरफेर गरेपछि ठाकुर पक्षका सांसदहरु अलपत्र परेको गुनासो हुन थालेका हो ।

सांसद विक्की यादवले भने, ‘पार्टी गुटमा विभाजित भएपछि पूर्व राजपाका प्रदेश सांसद अलमलमा छन्, के गर्ने र के नगर्ने भन्ने अन्योल देखिन्छ । नेतृत्व तहबाट कुनै निर्देशन नभएको र छलफलसमेत हुन नसकेको उनले बताए ।

जसपाका ५५ जना सांसदमध्ये ३० जना सांसद पूर्व समाजवादी पार्टीका छन् भने २५ जना पूर्व राजपाका छन् । पूर्व राजपाका २५ जनामध्ये ६ जना उपेन्द्र यादवको पक्षमा लागेका छन् । बाँकी १९ जनालाई पनि महन्थ ठाकुरले व्यवस्थापन गर्न नसकेको गुनासो आइरहेको छ ।

महन्थ ठाकुर पक्षका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि भागबण्डामा लागेको बेला जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर गएर बसेका थिए । उनको सोही बसाइका क्रममा काँग्रेस, माओवादी केन्द्र तथा महन्थ ठाकुर पक्षकै सांसदहरुसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिएको थियो ।

उपेन्द्र यादव प्रदेश २ मा योजनावद्ध रुपमा खेलिरहँदा केन्द्रमा महन्थ ठाकुरका पक्षका नेताहरु भने भागबण्डामा व्यस्त थिए । जसले गर्दा उक्त समूहले प्रदेश २ प्रदेशसभाका आफ्ना सांसदलाई व्यवस्थापन गर्न नसकेको सोही पक्षका स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् ।

महन्थ ठाकुर पक्षका सांसद जितेन्द्र सोनलले एक्लै आफ्ना पक्षका सांसदहरुलाई समेट्ने प्रयास गरे पनि केन्द्रबाट कुनै चासो नलिएका कारण उनी सफल हुन नसकेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर