
जनता समाजवादी पार्टी (जसपा) भित्रको पूर्व राजपा पक्षले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा सघाउने भएको छ । राष्ट्रपतिद्वारा आह्वान भएको धारा ७६ (५) अनुसारको सरकारमा पूर्व राजपा समूहको समर्थनमा शुक्रबार साँझ ओलीले पुनः प्रधानमन्त्रीमा दावी गर्ने भएका हुन् ।सरकार जोगाउन ओलीले संविधान संशोधन लगायतका जसपाले उठाउँदै आएको सबै माग पूरा गर्ने सहमति पनि महन्थ ठाकुर पक्ष पक्षीय जसपासँग गरिसकेको जसपा स्रोतले जनाएको छ ।
सरकारमा सहभागी हुन भन्दै ठाकुरले बढी भन्दा बढी सांसद तान्न प्रयास गरिरहेका छन् । महत्वपूर्ण पात्रहरुलाई मन्त्रीको लोभ पनि देखाइएको पूर्व समाजवादी समूहका एक नेताले जानकारी दिए ।
ओली नेतृत्वको सरकारमा नेता राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालय लिनेगरी पूर्व राजपा समूह सरकारमा सहभागी हुन लागेको हो ।
यसको लागि ओलीले पूर्वमाओवादीबाट प्रतिनिधित्व गर्ने सात मन्त्रालय खाली गराइसकेका छन् । मन्त्री पद गुमाएका एक माओवादी नेताले ओलीकै सेटिङ्गमा आफूहरुको पद गएको आशंका गरेका छन् ।
जसपाले माग गरेका मुद्दाहरू प्रधानमन्त्री ओलीले पूरा गरेको तथा केही प्रक्रियामा समेत रहेकाले ओलीसँग सहकार्य गर्न लागिएको जसपाका एक नेताले स्पष्ट पारे । यसको लागि विहीबार मध्यरातसम्म शितलनिवासमा बसेर सत्ता सहकार्यको गृहकार्य गरिएको ती नेताले जानकारी दिए ।
मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई, नागरिकतासम्बन्धी अध्यादेश र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठनमा सहमति भइसकेको एमालेका एक नेताले जानकारी दिए ।
मधेस आन्दोलनको मुद्दामा ओली र राजेन्द्र महतोहरु कुनै बेला विपरित ध्रुवमा थिए । ओलीलाई गाली गर्दै महतोले संसदमा गरेको भाषण बहुचर्चित बनेको थियो ।
यसैबीच, जसपाको उपेन्द्र यादव पक्षले भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न खुट्टा टेक्न भन्दै यसको लागि कांग्रेस र माओवादीले सहमति दिने गरी गृहकार्य गर्ने बताइरहेको छ ।