१९ बैशाख २०७८

कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ ।

एकतिर कोरोना सङ्क्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको सङ्ख्यासमेत बढ्दै गएको छ ।

भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ ।

सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ ।

प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको सङ्ख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो ।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को सङ्ख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् ।

तीमध्ये थोरै सङ्ख्यामा मात्र परीक्षण हुने गरेको छ ।

गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ ।

किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो ।

कोरोना सङ्क्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आजदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर