१७ बैशाख २०७८

कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि कर्णाली प्रदेश सरकारले १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
जसमध्ये कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिएको छ ।

यस्तै चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनीतिक अस्पताललाई १२ करोड रुपैयाँ निकासा गरी पठाएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिइन् ।
एक अर्बमध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको मन्त्री केसीले जानकारी दिइन् ।

यस्तै प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको पनि मन्त्री केसीले बताइन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सर्वदलीय संयन्त्र निर्माण गरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव प्रदेशसभामा लैजान लागेको भन्दै सरकारको उक्त प्रयास प्रमुख प्रतिपक्षको सदन अवरोधका कारण अघि बढ्न नसकेको उनको भनाइ छ ।
मन्त्री केसीका अनुसार गरिब विपन्न परिवारलाई निःशुल्क औषधी उपचारको व्यवस्था मिलाइएको छ ।

दुर्गम बस्तीका कोरोना संक्रमितलाई प्रदेश अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्स सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् ।

विकट क्षेत्रका लागि हवाइ उद्दारको व्यवस्था गर्न पहलसमेत गरेको, कोरोना उपचारको लागि अक्सिजनको आपूर्ति चुनौतीको विषय बनेकोले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूला अक्सिजन प्लाण्ट तथा प्रत्येक जिल्लामा मिनि अक्सिजन प्लाण्ट निर्माणका लागि ४०/४० लाखको दरले बजेट विनियोजन गरिएको बताइन् ।
हाल कर्णाली प्रदेशमा १ लाख २ सय २२ पीसीआर परीक्षण गरिएकामध्ये ८ हजार ३ सय २ जना संक्रमित भएका छन् ।

कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या ७ सय ६० जना रहेको र कारोनाका कारण ३९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर