
८बैशाख २०७८
दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो ।
अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकप्टरबाट गएराति नै काठमाडौं ल्याइएको थियो ।
काठमाडौंकाे करुणा अस्पतालमा उपचारका क्रममा गएराति उहाँको निधन भएको छ ।
अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गर्नु भएको थियो ।
हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध भने हुनुहुन्थ्यो ।
यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो ।
२० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो
पछिल्लो समय दाङमा कोरोना संक्रमितको संख्यामा निकै बढेको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिले एक सय ३३ जना र जिल्ला बाहिर ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मंगलबार मात्रै दाङमा ३० जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
कोरोना संक्रमण बढेसँगै दाङका अस्पतालमा बिरामीको चाप बढेको छ ।
दाङमा अस्पताल अभाव भएपछि कोरोना संक्रमितको उपचार गर्न बुटवल र बाँकेसम्म लाने गरिएको छ ।
बेलझुण्डि कोरोना अस्पताल, बुटवलको कोरोना अस्पतालका बेड भरिएको छन् भने बाँकेमा पनि ठाउँ नभएकाले बिरामी राख्न समस्या हुन थालेको छ । अहिलेसम्म दाङमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भैसकेको छ ।