५ बैशाख २०७८
गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा गृहमन्त्री थापालाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो ।
सपथ लिन मन्त्री थापा नेपाली पोशाक दौरा सुरुवालमा उपस्थित हुनुभएको छ ।
यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गर्नुभएको थियो ।
तर आज एमालेबाट गृहमन्त्री हुनुभएपछि थापा दौरा सुरुवालमा शीतलनिवास पुग्नुभएको हो ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित हुनुभएका थापा एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
सांसद पदसँगै मन्त्रीबाट पनि मुक्त हुने संबैधानिक ब्यवस्थाअनुसार थापालाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सिफारिशलगत्तै मन्त्री नियुक्त हुनुभएका थापालाई आजै शपथ गराइएको हो ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने समारोहमा उपस्थित हुनुभएन ।









