
४ बैशाख २०७८
कोरोना संक्रमणका करण हवाई उडानमा प्रतिबन्ध लगाएपछि कुवेतले गैरकानुनी रूपमा बसोबास गरेका नेपालीसहित विदेशी श्रमिकहरुलाई स्वदेश फर्किन दिएको समय एक महिना थप गरेको छ ।
कुवेतले अवैध श्रमिकहरुलाई स्वदेश फर्किन पाउने समय मे १५ तारिखसम्म थपेको कुवेतका आन्तरिक मन्त्री शेख थामर अल अलीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि अप्रिल १५ तारिखसम्म समय तोकिएको थियो ।
कुवेतमा बसोबास गर्न चाहने अवैध श्रमिकहरुले तोकिएको समयावधि अप्रिल १५ देखि मे १५ तारिख सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।
जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ ।
आफूलाई वैध बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुनस् कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।
कुवेत सरकारको यो निर्णयसँगै गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले पनि अबको एक महिना भित्रमा जरिवाना तिरेर वैधानिक हुने वा स्वदेश फर्किने अवसर पाउने छन् ।
त्यहाँ अझै पनि ठूलो सङ्ख्यामा बसेका गैरकानुनी रुपमा नेपाली श्रमिकहरु रहेको बताइन्छ ।