
२६ चैत्र २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग व्यवसायीहरुलाई झण्डै पौने घण्टा प्रवचन दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक उत्सबमाप्रधानमन्त्री ओलीले पूर्वीय दर्शन र पश्चिमा दर्शनको व्याख्या गर्दै यी दुईबीचको अन्तरसमेत प्रष्ट्याउँदै व्यवसायीहरुले सही बाटो समात्नु पर्ने बताए ।
‘हाम्रो पूर्वीय दर्शनले असत्य र खराब काम गर्न र त्यसको पछि लाग्न कसैलाई पनि प्रेरित गर्दैन ।
हाम्रा पुर्खा, ऋषिमुनि सबैले सत्कर्म गरेरै आए र हामीलाई पनि सोही बाटोमा हिड्न प्रेरित गरे । त्यसैले हामीले सत्यको बाटो कहिल्यै छोड्नु हुँदैन । यो हाम्रो दर्शन हो, आदर्श हो ।
‘सत्यसँग नलड्ने शक्तिसँग नझुक्ने’ यही मुल मन्त्रलाई नै आत्मसात गर्दै मैले यो नीति लिएको हुँ ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘साँचै देश बनाउने हो अब हामी सबैले सत्यलाई नै आत्मसात गर्दैआ–आफ्नो क्षेत्रबाट एकजुट हुन आवश्यक छ ।
राजनीतिज्ञहरू आफ्नो क्षेत्रबाट सत्यको बाटोमा हिँड्नुपर्छ, व्यवसायीहरु आफ्नो क्षेत्रमा इमान्दार हुनुपर्छ र जो जो जुन जुन क्षेत्रमा रहनु भएको सोही सोही क्षेत्रबाट इमान्दार भएर देश निर्माणमा लाग्नुपर्छ । अनि मात्र देश बन्छ ।’
प्रधानमन्त्री ओलीले उद्योग व्यवसायीहरुको कार्यक्रममा राजनीतिक कुरा के गर्ने भन्दै, उद्योग व्यवसाय र उत्पादनकै कुरामा आफू फोकस हुने बताए ।
यद्यपि राष्ट्र निर्माणका सवालमा ‘समृद्ध नेपाल सुखी नेपाली’को अभिभारा पुरा गर्न लागेको सरकारलाई विकास नचाहने, देशको भलो नचाहनेहरुले छिर्किनी लगाउने काम भएको उल्लेख गरे ।
‘यहाँ म देश हाँक्ने, विकास निर्माण तथा समृद्धिको तीव्र गतिमा गाडी चलाइरहेको छु । तर यता छेउमा बसेकाहरु कहिले स्टेरिङ समाउन आउँछन्, म चलाऊँ भन्छन् त, कहिले ब्रेकमै खुट्टा छिराउँछन् । गियर त चलाउनै दिँदैनन्, ठट्यौली पारामा प्रधानमन्त्री ओलीले भने, ‘यस्तो प्रवृतिको कुरा व्यवसायीहरुको माझमा के भन्नु र ।
कोही कसैलाई लागेको होला प्रधानमन्त्री आएपछि केही राजनीतिक कुरा गर्नुहोला, समस्याका कुरा, निकासका कुरा गर्नु होला । तर यहाँ म के कुरा गरूँ ?
संगठनका कुरा गरूँ की राजनीतिक खिचातानीको ? कि म यहाँ छु भन्नेहरूको कुरा ? खयर ! ती कुराहरु छाडि दिउँ ।’
अब देश विकासका र विकास निर्माणका लागि व्यवसायीहरुले राखेका समस्याका विषयहरु आफूले टिपोट गरिरहेको उनको भनाइ थियो ।
‘तपाईहरु उत्पादनमा लाग्नुस् । तपाईंहरुको साथमा सधै सरकार रहन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले उद्योग, व्यापार व्यवसायमा, उत्पादनमा समस्या भए त्यस्तो समस्या समाधानमा सरकार डटेर लाग्ने प्रतिवद्धता जाहेर गरे ।
हाल भएका नीति नियम कानुनले बाधा गरेका भएपनि त्यस्ता कानुनहरु सम्बोधन गरेर भनेपनि सहजीकरण गरिने प्रधानमन्त्री ओलीले बताए ।
यता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै निजी व्यवसायीहरुको समस्या सम्बोधनका लागि, व्यवसायिक सहजताका लागि सुविधा भन्दा पनि नीतिगत सुधार गरिदिन प्रधानमन्त्रीसँग माग राखे ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले कोभिड–१९ का बाबजुद पनि नेपाली अर्थतन्त्र चाडै पुनरुत्थान भएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा सो सन्देश पु¥याउन समेत महत्वपूर्ण भूमिका खेलिदिन सरकारसँग आग्रह गरे ।