२५ चैत्र २०७७

नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो ।

देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने छन ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा छन् । यसैगरी गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारका रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकी मैदानमा हुनुहुन्छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा रहँदा समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह मैदानमा हुनुहुन्छ । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दा महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दै हुनुहुन्छ ।

नयाँ संरचनाअनुसार सात प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुँदा त्यसबाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ भने बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ । एसोसिएट र प्रतिष्ठानहरुको अर्को अलग्गै प्रदेशस्तरको मतदान हुनेछ ।

विहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मत दिने व्यवस्था मिलाइएको छ भने मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको संयोजक काफ्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर