२४ चैत्र २०७७

प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ ।

८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ ।

छोरीविरुद्ध आमाको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मी छिन् । सुष्मा जाहेरवाला शोभाकी सहोदर छोरी हुन् ।

भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै आमा शोभाले छोरीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

उनले भने, ‘जाहेरीअनुसार भएभरको सबै सम्पत्ति छोरीले लिएको देखिन्छ । तर, आमालाई छोरीले बेवास्ता गरेको देखिन्छ ।

सोही आधारमा जाहेरी पर्‍यो । त्यसलगत्तै हामीले अनुसन्धान गर्‍यौँ । छोरी सुष्मालाई पक्राउ गर्‍यौँ ।’

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि जाहेरवाला शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् ।

मृतक भूपेन्द्र र जाहेरवाला शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको आरोप छ ।

त्यसबाहेक मृतक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मीले झुक्याएर झिकेको आरोप छ । कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् । नयाँपत्रीकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर