२० चैत्र २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन बारे आफू विरुद्ध नेताहरुले गलत प्रचार गरिरहेको बताएका छन्।

मेलम्चीको पानी वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारको ध्यान विकास निर्माणमा भए पनि आफ्ना विरोधीले प्रतिगमन गरेको आरोप लगाएको बताएका हुन्।

उनले प्रतिगमनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निस्कासित नेता माधवकुमार नेपालले गलत प्रचार गरेको आरोप लगाए।

‘ख्याल ठट्टा हो प्रतिगमन भनेको। प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन भन्ने। के हो प्रतिगमन भनेको? प्रतिगमन भनेर स्याल ह्युइयाँ गर्ने,’ ओलीले भने।

प्रधानमन्त्री बन्ने बाटो बन्द भएपछि प्रतिगमन भयो भनेर गलत प्रचार गरिएको ओलीको दाबी छ।

‘व्यक्तिगत आंकाक्षा पुरा नहुँदा असन्तुष्टिका कुरा मात्रै हुन्। सरकारको ध्यान विकासमै छ,’ ओलीले भने।

उनले प्रतिनिधिसभा पुनस्थापन भए पनि कामै नलाग्ने भएको टिप्पणी गरे। दलहरुको तानातानमा संसद फसेको ओलीको भनाई छ।

‘संसद पुनस्थापना भो। पुनस्थापित संसद न काम अगाडी बढाउन सक्छ। संसद तानातानको थलो भएको छ। दलहरुका केही व्यक्तिहरुको तानातानको थल बन्नु हुँदैन्,’ उनले भने।

ओलीले संसदले सरकारलाई काम गर्न नदिएको आरोप दोहोर्‍याए।

मेलम्चीमा यांग्री र ल्यार्कोको पानी

ओलीले लामो समयको प्रतिक्षापछि काठमाडौंमा मेलम्चीको पानी आएको बताए। यांग्री र ल्याक्रेको पानी पनि मेलम्चीकै टनेलबाट ल्याउने उनले घोषणा गरे।

तीन वर्ष भित्रमा यांग्री र ल्यार्केको पानी काठमाडौंमा आउने ओलीको दाबी छ।

‘हाम्रो तदारुकताका हिसावले पनि लामो समय लिन सक्दैन्। हामीले लामो समय प्रतिक्षा गर्न सक्दैन्। ३ वर्षमा हामी यांग्री र ल्यार्केको पानी झार्न सक्छौ।

विभाग र मन्त्रालयलाई पनि त्यसैगरी काम अघि बढाउन अनुरोध गर्दछु,’ ओलीले भने।

उनले यांग्री र ल्याक्रेको पानी ल्याउने आयोजनाका नाम भने मेलम्ची नराखेर फरक राख्ने बताए।

‘अब मिसाउने आयोजना त्यसको नाम सायद फरक पार्नुपर्ला। त्यसकारण अर्को नामले अघि बढाउन उचित होला। काम नहोलाकी भन्नुपर्ने अबस्था छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर