१९ चैत्र २०७७

चित्तबुझ्दो स्पष्टिकरण नदिएको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेपछि एमालेमा लागेका पूर्वमाओवादीहरू सशंकित भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रचण्डनिकट एक नेतालाई फोन गरेर ऊर्जामन्त्रीसमेत रहेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले मिल्नै नसकिने सम्भावना नरहेको बताएका हुन् ।

‘यता लाग्न त लागिहालियो, तर आफ्नै नेतामाथि बर्षाएको कारबाहीको डण्डा कुनै समय आफूमाथि नै आइलाग्ने खतरा भयो,’ रायमाझीको फोन रिसिभ गरेका ती नेताले उनको भनाइ उदृत गर्दै भने, ‘हामी मिल्नै नसकिने गरी छुट्टिएका छैनौं ।

एकले अर्कालाई गद्धार पनि भनेका छैनौं । मिल्ने सम्भावना अझै छ है ।’

एमालेमा लागेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सहित उर्जामन्त्री रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री  गौरीशंकर चौधरी, खेलकुद मन्त्री दावा लामा लगायतका नेताहरू गोप्य बैठक बस्ने गरेका छन् ।

एमालेमा लागेपछि उनीहरू कम्तीमा तीन पटक गोप्य बैठक बसेर परिस्थितिको समीक्षा गरिरहेको स्रोतको दाबी छ ।

उनीहरूले ओली र प्रचण्डसँग समदूरी बनाएर अघि बढ्नुपर्ने, पहिला जे जसो भएपनि अब सार्वजनिक वक्तव्यमा माओवादी केन्द्रप्रति कडा नहुने, माओवादी केन्द्रले तत्काल कारवाही गरेर संसदबाट नहटाएको विषयलगायतमा छलफल गर्ने गरेका छन् ।

गत फागुन २८ गते ओलीले आफूनिकट नेताहरूको बैठक बोलाएर पूर्व माओवादीका २२ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

‘अप्ठेरो अवस्थामा पार्टी र नेतृत्वलाई साथ दिएकाले उहाँहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो,’ ओलीले पठाएको अन्तरपार्टी निर्देशिकामा भनिएको छ ।

ओलीसँग ४० वर्षसम्म सहकार्य गरेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई कारवाही गरेपछि पूर्व माओवादी नेताहरू सशंकित बनेका हुन् ।

भोलि ओलीले भनेको कुरा नमान्दा आफू पनि कारवाहीको भागीदार हुन सक्ने भन्दै नेताहरूले संशय प्रकट गरेका छन् ।

बादलनिकट स्रोतले  भन्यो- ‘राजनीतिमा कोही पनि स्थायी सत्रु र मित्र हुँदैन । हिजो पनि हामीले प्रचण्डविरुद्ध संघर्ष गरेर पार्टी अलग गरेका हौँ ।

फेरी मिल्यौं । अब पनि मिल्न नसकिने भन्ने हुँदैन ।’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने क्रममा काठमाडौँमा आयोजना गरिएको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए- ‘सरकारमा रहेका दुई मन्त्रीसमेत यता फर्किन मसँग वार्ता गरिरहेका छन् ।’

त्यतिबेला श्रममन्त्रीसमेत रहेका पूर्वमाओवादी नेता गौरीशंकर चौधरी र मणि थापाले प्रचण्डसँग अनौपचारिक वार्ता गरिरहेको खुलेको थियो ।

नेत्री पम्फा भुसालले भनेकी थिइन्, ‘गौरीशंकर चौधरी र मणि थापाको कुराकानी भइरहेको छ । गृहमन्त्री पनि आउन सक्नुहुन्छ ।’

एमालेमा लागेका माओवादी नेताहरू फर्किन सक्ने सम्भावनालाई ध्यानमा राखेर नै प्रचण्डले उनीहरूविरुद्ध तत्काल कारबाही गर्ने प्रक्रिया थालेका छैनन् ।

गत फागुन २९ गते माओवादी केन्द्रले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको थियो ।

पेरिसडाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको भएपनि हालसम्म उनीहरूले स्पष्टिकरण पनि दिएका छैनन् भने कारवाहीको प्रक्रिया पनि थालिएको छैन ।

सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी,  खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट सरकारमा छन् ।

उनीहरू कुनै पनि बेला मूलघरमा फर्किन सक्ने तयारी गरिरहेको स्रोतको दाबी छ ।

स्वयम् बालुवाटार पनि उनीहरू एमालेमै रहने कुरालाई शंकाको हिसाबले हेर्ने गर्छ ।

ओलीनिकट नेता सुवासचन्द्र नेम्वाङ भन्छन्- ‘परिस्थितिले उहाँहरूलाई एमालेमै रहन बाध्य बनाएको हो ।

आफ्नो राजनीतिक भविष्यका बारेमा निर्णय लिन पाउने अधिकार उहाँहरूलाई छ । अहिले उहाँहरू यता हुनुहुन्छ, यसको अर्थ सधैं यतै रहिरहनु हुन्छ या तत्काल अन्त गइहाल्नुहुन्छ भन्ने होइन ।’

एमालेमा लागेका पूर्वमाओवादी नेताहरूमध्ये केहीले अबको राजनीतिक परिस्थिति हेरेर आफूहरूले निर्णय लिने आश्वासन प्रचण्डलाई दिएका छन् ।

उनीहरूले आफूलाई तत्काल कारवाही नगर्नसमेत अनुरोध गर्ने गरेको प्रचण्डनिकट स्रोतको दाबी छ ।

नेता नेपाल र रावलबाहेक अन्यलाई पनि कारबाही गरेर पार्टीबाट हटाएको खण्डमा एमाले फुट्ने निश्चितजस्तै देखिएको छ ।

नेता नेपालको नेतृत्वमा देशभर समानान्तर संगठन निर्माणको काम धमाधम भइरहेको छ ।

नेता नेपाल पक्षका नेताहरूको बुझाइ छ- अर्ली इलेक्सन भइहाल्यो भने अथवा आवधिक निर्वाचनमा आफूहरूले जित्न नसके पनि ओली पक्षका उम्मेद्वारलाई हराउन सक्ने शक्ति संचय गर्न सकिन्छ ।

यदि नेपाल पक्षले पार्टी विभाजन गरेको खण्डमा ओलीतिर लागेका माओवादी नेताहरूको निर्वाचन सुरक्षित गर्न धेरै कठीन हुन सक्ने ती नेताहरूको आंकलन छ ।

त्यस्तो अवस्थामा आफ्नो राजनीतिक करियर सुनिश्चित बनाउन मूलघर नै फर्किन सक्ने सम्भावनालाई एमालेमा लागेका पूर्वमाओवादी नेताहरूले नकारेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर