
१९ चैत्र २०७७
संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ ।
आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन ।
यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो ।
१५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्ने गरी नयाँ क्यालेन्डर जारी गरे ।
रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्ये ।
त्यसैले यस्ता मानिसलाई मूर्ख सम्झिएर अन्यले मजाक उडाए ।
अप्रिल फुल दिवसका बारेमा अर्को एउटा प्रचलित जानकारी चाहिँ यस्तो पनि छ ।
भनिन्छ, पहिलेको क्यालेन्डरमा अप्रिल महिना देखि नयाँ वर्ष शुरु हुन्थ्यो तर पछि क्यालेन्डरमा संसोधन गरी जनवरी देखि नयाँ वर्ष शुरु गरियो ।
यो संसोधनलाई सबैभन्दा पहिले फ्रान्सले अपनायो ।
सन् १५६४ मा फ्रान्सका तत्कालिन राजा चार्ल्स नवौंले अध्यादेश जारी गरी पहिलो जनवरी देखि नयाँ वर्ष शुरु हुने घोषणा गरे ।
जनताले राजालाई स्वीकारेर पहिलो जनवरीलाई वर्षको शुरुवात मान्न थाले ।
तर कतिपय जनताले चाहिँ यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् ।
उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे । यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल एकलाई ‘मूर्खहरुको दिन’ भनी नामकरण गरे ।