१४चैत्र २०७७

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फागून २३ गतेको निर्णयलाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईंहरू संघर्षको मैदानमा हुनुहुन्थ्यो ।

आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’

तर, त्यसबाट आफू नडराउने पनि नेपालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं ।

तर, बिडम्बना भन्न पनि कस्तो गाह्रो छ । पार्टीको कुरा माधव नेपालले डबलीमा भन्यो भनेर आरोप लगाएर कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्नसक्छ । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’

नेपालले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर