१३ चैत्र २०७७, शुक्रवार

बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ । सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ । उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरिँदै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।

त्यसदिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ ।

दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ । पानी वितरणका लागि निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आइतबार मेलम्ची पानी काठमाडौंवासीका धारामा छाड्ने जानकारी गराएका थिए । एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले सरकारले उल्लेख्य प्रगति गरेको जनाउँदै मेलम्ची पानी काठमाडौंवासीका घरका धारामा छाडिने बताएका थिए ।

मेलम्ची खानेपानी आयोजनाले १० पोखरीमध्ये ९ वटाको काम सम्पन्न भइसकेको जनाएको छ । यसअघि, गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । परीक्षणका लागि गत १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको पानी २२ फागुनमा काठमाडौंको सुन्दरीजल आइपुगेको थियो ।

सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको थियो । सोही पानी सुन्दरीजलमा रहेका दुई प्रशोधन केन्द्रमा खसालेर वितरण प्रणालीमार्फत बाँड्ने तयारी गरिएको हो ।

गत असारमै सुरुङमा पानी परीक्षण सुरु गरिएको थियो । त्यसक्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि परीक्षण कार्य नै रोकिएको थियो । फुटेको गेट नम्बर १७ लगायत अन्य संरचना पुनः जाँच गरी पानी सुरुङबाट पठाइएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्ची पानीले पखालिदिने वाचा गरेका थिए ।

२०५८/५९ मै सुरु मेलम्ची आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसयता बनेका हरेक प्रधानमन्त्री र मन्त्रीले मेलम्ची पानी यसै वर्ष काठमाडौं आउने दाबी गर्दै आए पनि ढिलासुस्तीलगायत विभिन्न कारण आउन सकेको थिएन । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर