२६ फागुन २०७७
नेकपा (एमाले) का केन्द्रीय सदस्य, तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले अब एमालेको नेतृत्वले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गरे ।
उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ ।
सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको सुनाए ।
नेता पण्डितले प्रतिनिधिसभा विघटनसम्म पुग्न पार्टीको आन्तरिक विवाद नै मुख्य कारण रहेको बताए ।
उनले यसअघि नेकपाको रहेको सरकार नेकपा एमालेको सरकारमा रुपान्तरित भएको सुनाए ।
पण्डितले छिट्टै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेताहरुबीच छलफल गर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अब सदनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।
उनले भने, ‘प्रतिपक्षमा रहनुभएकाहरु पनि अब नेपालको लोकतन्त्रमा, लोकतान्त्रिक प्रक्रियामा, प्रतिपक्षी भूमिकाभित्र सकारात्मक सोचका साथ अघि बढ्नुहुन्छ ।’









