२५ फागुन २०७७
अस्तिसम्म केपी शर्मा ओलीलाई नेता नै मान्न सकिँदैन भनेर भाषण गर्ने माधवकुमार नेपाल अमिलो मुख लगाएर लुरुलुरु ओली नेतृत्वकै पार्टीमा फर्किएका छन् ।
आफैँले पार्टीको सदस्यबाट समेत निष्कासन गरेका तिनै ओलीलाई नेता मान्न बाध्य भएका छन् ।
प्रचण्ड बराबरको हैसियतमा पुगियो भनेर हौसिँदै गर्दा लुडो खेलमा झैँ एक्कासी ९९ बाट दुई नम्बरमा झरेका छन् ।
बालुवाटारमा जन्मदिनको चहलपहल भइरहँदा आफ्नो अपेक्षा विपरीत सर्वोच्चको फैसला आउँदा पनि ओली विचलित भएको देखिएन ।
तर एमाले र माओवादी बिउँताउने सर्वोच्चको फैसलाले माधव नेपाललाई चाहिँ विचलित बनायो ।फैसला सुन्नेबित्तिकै छाँगाबाट खसेजस्तो हालत भयो । साथीभाइले दिएको जन्मदिनको शुभकामना पनि व्यङ्ग्यजस्तो लाग्यो ।
कार्की प्यालेसमा गएर बसेको अध्यक्षको कुर्सी हेर्दाहेर्दै लड्यो । राजनीतिको लामो यात्रामा आफ्नै अघिल्तिर संवैधानिक र नैतिक सङ्कट खडा भयो ।सर्वोच्चको फैसलापछि नेपालको अघिल्तिर तीन वटा विकल्प देखिए ।
पहिलो, एमाले फुटाएर माओवादीसँग मिल्ने । दोस्रो, राजनीतिबाट सन्यास लिएर जोगी बन्ने र तेस्रो ओलीलाई नेता मानेर पुरानै घरमा फर्कने ।
पहिलो विकल्पअनुसार पार्टी फुटाएर हिँड्न ४० प्रतिशत सदस्य सङ्ख्या पुगेन ।
दोस्रो विकल्पअनुसार राजनीति छाडेर खरानी घस्न मनले मानेन ।
त्यसैले नेपाल मन नभइ–नभइ ओलीकै नेतृत्वमा पुरानो घरमा फर्कन बाध्य भए ।
संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा ओलीको राजीनामा माग्ने नेपालले साँच्चै नैतिकताको व्यावहारिक परिभाषा बुझेका भए एमालेमा फर्कन आँट गर्दैन थिए ।
कि त सांसद पद गए जाओस् भनेर दल त्याग गर्थे कि त राजनीतिबाट सन्यास लिन्थे तर उनले यो जोखिम मोल्न चाहेनन् । उनलाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल पद भनेपछि हुरुक्कै हुन्छन् ।
दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष भएकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई प्रष्टै बुझिसकेका छन् ।
यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए ।
ओलीका कमीकमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । माओवादीसँग मिलेपछि पनि ओलीको पुरानो बानी हटेन ।
ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो ।
जग हल्लिएर भत्कनै लागेको पार्टीमा अहिले उनी ओत लाग्न फर्कँदैछन् ।
यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छँदैछ । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उनले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए ।
त्यतिबेला उनले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाएका थिए । तर त्यो नैतिकता र सहानुभूतिलाई उनले टिकाउन सकेनन् । उनको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । उनको साथ नछाड्नेहरू पनि उनका कतिपय गतिविधिप्रति असन्तुष्ट छन् ।
पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उनीमाथि आरोप लागिरहेकै छ ।
होली वाइन प्रकरणले त उनलाई झन् तल गिरायो ।यति हुँदाहुँदै पनि एमाले र नेपालको राजनीतिमा माधव नेपालको योगदान महत्त्वपूर्ण छ ।
तत्कालीन माओवादीलाई मूलाधारमा ल्याएर शान्ति सम्झौता गर्नेदेखि लोकतान्त्रिक आन्दोलन सफल बनाउने श्रेय ओलीलाई भन्दा बढी उनलाई नै जान्छ ।
तर केही कमी कमजोरीले उनको यो योगदान र गुणलाई छायामा पारिदिएको छ । ढङ्ग नपुर्याएकै कारण उनको यो अवस्था आएको हो ।सर्वोच्चको पछिल्लो फैसलाले सबैभन्दा बढी उनलाई नै अप्ठ्यारो बनाइदिएको छ ।
अप्ठ्यारो र सङ्कट झेलेरै भए पनि उनी ओली नेतृत्वको पुरानो पार्टीमा फर्किएका छन् ।
पार्टी सदस्यबाट हटाइयो भनिएका तिनै ओलीको नेतृत्व मान्न तयार भएका छन् । अब आफ्नो कमजोरी सुधार्दै ओलीको कमजोरीलाई गुणात्मक र रचनात्मक ढङ्गले केलाउन र खेलाउन सके भने फेरि एमालेभित्रै बसेर आफ्नो हाइट बढाउने अवसर माधव नेपाललाई बाँकी नै छ । उज्यालोबाट









