२४ फागुन २०७७

सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि राजनीतिक सकसमा सबैभन्दा बढी माधव नेपाल पर्नुभएको छ ।

उहाँसँग ओली नेतृत्वको एमालेमै बसेर संघर्ष गर्ने, एमाले पार्टीलाई नै विभाजन गर्ने वा सरक्क पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा जाने भन्ने विकल्प मात्र देखिन्छ ।

एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको नेकपामा नेपालको दाहालसँग गठजोड रहिरहेका बेला अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँतने फैसला गरेपछि उहाँमाथि सकस परेको हो ।

अदालतको फैसला आएलगत्तै उत्साहित देखिनु भएका नेकपाका पहिलो अध्यक्ष केपी ओलीले नेकपा एमाले ब्युँताइने बताइसक्नुभएको छ ।

सोमबार त उहाँले आफ्नो पार्टी कुन हो भनेर अदालतले भनिसकेकाले तपाईंहरुको पार्टीचाहिँ कुन भनेर सोध्ने अवस्था नआओस् भन्दै नेपाल पक्षका नेताहरुलाई कटाक्ष गरिसक्नुभएको छ ।

ओली पक्षीय नेता कार्यकर्ता जिल्ला जिल्लामा धमाधम नेकपा एमालेको कार्यालयको बोर्ड राख्न थालिसकेका छन् ।

यस्तोमा के निर्णय लिनेभन्ने सकसमा माधव नेपाल फस्नुभएको हो ।

उहाँका अघिल्तिर अब ओलीको नेतृत्व स्वीकार्दै एमालेमै रहेर संघर्ष अघि बढाउने, पार्टी केन्द्रीय समति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर नेकपा एमालेलाई फुटाउने या सरक्क एमाले छाडेर दाहालसँग मिलेर अर्को पार्टी बनाउने विकल्प मात्र रहेको नेकपाका नेताहरु नै बताउँछन् ।

एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन ।

किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?

पार्टी छाडेर जाँदा एमाले अध्यक्ष ओलीले कार्वाही गर्ने र त्यसको असर सांसद पदमा समेत पर्ने देखिन्छ ।

पार्टी छाड्दा वा निर्णय अवज्ञा गर्दा चलाइने कार्वाहीको डण्डाले नेपालसहित उहाँको साथमा जाने सबैको सांसद पदसमेत नै जानेछ ।

यस्तोमा उहाँले ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्नसक्ने विकल्प बलियो रहेको दाबी गर्नेहरु उत्तिकै छन् । पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पनि संसदीय दलमा भने केही संख्या अपुग भएकाले कसरी एमालेबाट निर्वाचित सांसदलाई आफूतिर तान्ने भन्ने रणनीतिमा उहाँ लाग्नुभएको दाबी गरिएको छ ।

संसदीय दल फुटाउन ४८ जना सांसद चाहिने र नेपालसँग ४० जना सांसद रहेका दाबी गरिएको छ ।

अब कसरी अगाडी बढ्ने भनेर नेता नेपाल लगातार परामर्श र छलफलमा रहनुभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर