२३ फागुन २०७७
नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी दर्ता थियो ।
तर तत्कालीन एमाले र माओवादी केन्द्र एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा दर्ता गरेका थिए ।
त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आइतबार त्यसैको फैसला सुनाएको हो ।
फैसलापछि कट्टेलले आफुले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले (ओली–प्रचड) ले नमानेको भन्दै तर अहिले न्याय पाएको प्रतिक्रिया दिए ।
उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।
‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए ।
तर अहिले सरकार पक्ष हार्यो । राष्ट्रिय विषय बन्यो । हाम्रो पार्टीलाई देशभरका मान्छेले चिन्ने मौका पाए । हाम्रै प्रचार गरिदिए,’ कट्टेलको भनाइ छ ।
उनले अव मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्दै अघि बढ्ने प्रयास गर्ने पनि बताए ।
‘हाम्रो उद्देश्य नै जनक्रान्तिको साधन, संयुक्त सरकारको साधन र पार्टी एकताको आधार भनेर सैद्धान्तिकरण गरेका छौँ ।
अब त्यसलाई कति लान सकिन्छ त्यो पछिको कुरा हो’, अध्यक्ष कट्टेलको भनाइ छ ।









