२० फागुन २०७७, बिहिवार
सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ । यसअघि हिजो भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो ।
यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गर्नुभयो ।
वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहनुभएको छ ।
वार्तामा सरकारी टोलीले विप्लव समूहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफुसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।
विप्लव समूहले भने आफूसँग कुनै प्रकारको हतियार नभएको दावी गरेको छ । यसैगरी विप्लव समूहले आफूमाथिको प्रतिबन्ध हटाएर जेलमा रहेको नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त अघि सारेको छ । सकेसम्म वार्तालाई आजै निष्कर्षमा पुर्याउने तयारी दुबै पक्षले गरेका छन् ।









