
१९ फागुन २०७७, बुधवार
संसद अधिवेशन नजिकिँदै गर्दा नेकपाभित्र सांसदहरूको तानातान तीव्र भएको छ। अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपालपक्ष बीच सदस्य संख्याका हिसाबले कडा टक्कर छ।
दुवै समूहबीच सांसद संख्याको फरक यति साँघुरिएको छ, वामदेव गौतम निर्णायक हुने स्थिति बन्न लागेको छ। उनले भने आफू एकताको पक्षधर भएको भन्दै कतै पनि नलागेको बताएका छन्।
प्रतिनिधिसभामा नेकपाका एक सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन्। त्यसैले अहिले एक सय ७२ सांसद कायम छन्। त्यसमध्ये प्रचण्ड-नेपाल समूहले आफूसँग ९० भन्दा बढी सांसद भएको दावी गरेको छ भने ओली समूहले ८८ सांसद आफूसँग रहेका दावी गरेको छ।
अहिलेसम्म वामदेव गौतम, उनकी पत्नी तथा सांसद तुलसी थापा र लालबाबु पण्डित कुनै पनि समूहमा लागेका छैनन्। अरू लगभग एउटा समूहतिर खुलेका छन्।अहिलेसम्म खुलेका सांसदहरूको तथ्यांक केलाउँदा प्रचण्ड(नेपाल पक्षसँग ८७ र ओली समूहसँग ८३ सांसद छन् । आफूहरूसँग धेरै सांसद रहे पनि प्रचण्ड-नेपाल समूह ढुक्क हुन सकेको छैन।
हामीसँग सांसद संख्या अलिकति भए पनि धेरै छ। तर अन्तिम समयमा केही संख्या यताउता हुने हो कि भन्ने डर पनि छ। किनकी ओलीसँग पैसा र शक्ति छ, प्रचण्ड-नेपाल समूहका एक सांसदले भने, नेकपाको संसदीय लडाइँमा फेरि पनि वामदेव गौतम नै निर्णायक हुने स्थिति छ।
वामदेव, तुलसी र लालबाबु तीन जना खुल्न बाँकी भए पनि उनीहरू कुनै एक समूहतिर लाग्दा अरू केही सांसद पनि प्रभावित हुन सक्ने प्रचण्ड(नेपाल समूहका सांसदले बताए।
उनीहरूसहित पाँच-सात जना सांसदको संख्या एकतिर थपघट हुन सक्छ, उनले भने।
नेकपा विभाजन गर्नु हुँदैन भनेर लागेका सांसद लालबाबु पण्डित अन्तिम समयमा आफूतिर आउनसक्ने प्रचण्ड(नेपाल पक्षको आशा छ। उनले भने मंगलबार कुरा गर्दै आफू ओली, प्रचण्ड र नेपाल एक ठाउँमा उभिए भने मात्र त्यस्तो बैठकमा सहभागी हुने नत्र कतैतिर नलाग्ने बताए। केही गरी अन्तिम समयमा वामदेव, तुलसी र लालबाबु ओलीतिर लागे भने ओलीले बहुमत पुर्याउन सक्ने डर पनि प्रचण्ड(नेपाललाई छ।
उनीहरू तीन जना ओलीतिर लागे भने प्रतिनिधिसभामा ओली पक्षसँग ८५ सांसद पुग्छन्। वामदेव राष्ट्रियसभा सदस्य हुन् भने तुलसी र लालबाबु प्रतिनिधिसभा सदस्य हुन्। त्यस्तो अवस्थामा प्रचण्ड(नेपालसँग प्रतिनिधिसभामा ओली समूहभन्दा दुई जना मात्रै सांसद धेरै हुन्छन्।
नेकपा संसदीय दलको विधानमा राष्ट्रियसभाका सांसदहरूले समेत संसदीय दलको नेता चयनमा मतदान गर्न पाउँछन्। उपाध्यक्ष वामदेव ओली समूहमा लागे भने राष्ट्रियसभामा ओलीकै बहुमत पुग्छ। राष्ट्रियसभामा नेकपाका ५० जना सांसद छन्। राष्ट्रियसभा अध्यक्षले मतदान गर्न नपाउने भएकाले ४९ जना कायम हुन्छ। ४९ जनामध्ये प्रचण्ड-नेपाल पक्षमा २४ सांसद छन् भने ओली समूहमा पनि २४ जनै छन्। यस्तो अवस्थामा गौतम जता लाग्छन्, राष्ट्रियसभामा उसकै बहुमत पुग्छ।
वामदेव गौतमको सकस
अन्तिम अवस्थामा कतातिर लाग्ने भन्नेमा वामदेवको सकस पनि कम छैन। त्यही सकसले गर्दा उनले अहिले निर्णय लिन नसकेको उनीनिकट स्रोतको दावी छ। वामदेवकी श्रीमती तुलसी थापा ओली समूहले विस्तार गरेको केन्द्रीय कमिटी सदस्य हुन्। यद्यपि उनले केन्द्रीय कमिटीको सपथ लिएकी छैनन्। त्यस्तै छोरा हरिश गौतम ओली समूहका बर्दिया जिल्ला कमिटी सदस्य हुन्। हरिशले भने सपथ लिइसकेका छन्।
वामदेवका स्वकीय सचिव दीपक टमाटा प्रचण्ड(नेपाल समूहका बर्दिया जिल्ला सदस्य हुन्। वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदी प्रचण्ड(नेपाल समूहको प्रेस संगठनका सह(संयोजक छन्। पछिल्ला समयमा वामदेवसँग सबभन्दा नजिक रहेका बलराम बास्कोटा र सावित्रा भुषाल प्रचण्ड(नेपाल समूहमा छन्। वामदेवनिकट मानिने केन्द्रीय सदस्य ताज महमद मिया केही दिनअघि मात्रै प्रचण्ड-नेपाल समूहमा आवद्ध भएका छन्।
वामदेवसँगै कुनै समूहमा नलागेका हरि पराजुली मात्रै छन्। त्यस्तै उनीसँग निकट रहेका सांसद गणेश ठगुन्ना ओली सरकारका मन्त्री छन्। सांसदहरू लालबहादुर थापा, भैरवबहादुर सिंह, भुपेन्द्र थापा लगायत ओली समूहमा छन्।
ओली समूहमा लागेर अपमान मात्रै सहनुपर्ने गुनासो उनले आफूनिकटसँग गरेका छन्। कता लाग्ने भन्ने टुंगो छैन। आफूले एकता अभियानै चलाउने उनले निकटहरूलाई बताउँदै आएका छन्।
उहाँले सकेसम्म एकता अभियान नै चलाउनुहुन्छ। यदि खुल्नै पर्ने अवस्था आयो भने पनि ओलीतिर लाग्ने सम्भावना देखिँदैन, वामदेवनिकट स्रोतले भन्यो, विचार, दृष्टिकोण र एजेण्डाका हिसाबले प्रचण्ड-नेपालसँगै नजिक हुनुहुन्छ। तर यसै गर्नुहुन्छ भनेर अहिले नै भन्न सकिँदैन।
नेकपाभित्र जारी राजनीतिक टकरावमा संसदीय दलको बहुमत कतातिर छ भन्ने कुराले खासै अर्थ नराख्ने देखिँदैछ। संसद सुरू हुने बेलासम्मा ओलीले राजीनामा दिएनन् भने वा अर्को पार्टी खोलेनन् भने प्रचण्ड(नेपाल पक्षको तयारी उनलाई संसदीय दलमा चुनौती दिने छैन। उनीहरू संसदमा अविश्वासको प्रस्ताव लगेर नेपाली कांग्रेस र समाजवादी जनता पार्टीको सहयोगमा उनलाई प्रधानमन्त्रीबाट हटाउनेमा छन्।
प्रचण्ड-नेपाल निकट सांसद रामनारायण विडारीले भने, संसद पुनर्स्थापना भइसकेको अवस्थामा हामी प्रधानमन्त्रीलाई संसदमा अविश्वासको प्रस्तावमार्फत् नै हटाएर देखाउनेछौं।
त्यो अवस्थामा उनीहरूसँग प्रतिनिधिसभाका ८० सांसद भए पनि नेपाली कांग्रेससँग मात्र मिल्दा पनि अविश्वासको प्रस्ताव पारित हुनेछ। तर संसदीय दलमा आफ्नो पक्षमा बहुमत हुनु नेकपाका दुवै पक्षका लागि नैतिक हिसाबले ठूलो महत्व राख्छ। त्यसैले दुवै पक्ष सांसद तानातानमा जोड गरिरहेका छन्।
ओली पक्षले फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ। त्यहाँ उसका पक्षमा बहुमत पुग्यो भने त्यो ओलीको ठूलो नैतिक जित हुनेछ। सेतोपाटीबाट