२८ माघ २०७७, बुधवार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको बताएका छन्।
प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान मिच्नु भएको नेपालको भनाइ छ।
उनले देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कारवाही गर्न नसकेको पनि बताएका छन्।
‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ,’ आज काठमाडौंमा आयोजित विरोध सभामा अध्यक्ष नेपालले भने, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’
ओलीको पाप कसैले पनि धोईपखाली गर्न नसक्ने उनको भनाइ छ। मदन भण्डारीलाई विर्सेर ओलीले पशुपतिनाथ जपिराखेको आरोप उनको थियो।
ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी उनको थियो। ओली तर्क नभई धम्कीतर्फ लागिरहेको उनले बताएका छन्। जनमतमा विश्वास गर्ने भए ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने उनले बताए।
ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप नेपालको थियो।
आफूहरू सुशासनका दिशातर्फ अगाडि बढ्न चाहेको उनको दाबी थियो। युवालाई रोजगारी दिन चाहेको पनि उनले बताए।