२८ माघ २०७७, बुधवार
प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली एक मिनेट पनि पदमा बस्ने कुनै आधार नभएको दाबी गरेका छन् ।
बुधवार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे ।
‘केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ नेता श्रेष्ठले भने ।
साथै उनले प्रधानमन्त्री ओलीले अवैधानिक ढंगले सरकारमा बसिरहेको र संवैधानिक नियुक्ति गरेको आरोप समेत लगाए ।
उनले केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजेको आरोप लगाए ।
उनले केपी ओलीले विकासको नारा दिएर, संविधानमा कालो मसीले छोपेर फाँसीवाद ल्याउन खोजेको आरोप लगाए ।
साथै उनले चुनाव नगर्ने उद्देश्यले केपी ओलीले चुनाव घोषणा गरेको समेत दाबी गरे ।