२८ माघ २०७७, बुधवार

मोरङको केराबारी–५ सत्तिसालेबाट प्रहरीले मंगलबार बिहान तीनवटा ट्रकसहित तस्करीका ६७ वटा गोरु नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिइएका गोरुसहित ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि प्रहरीले राजस्व अनुसन्धान इटहरीमा बुझायो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकमा लोड गरिएको अवस्थामा गोरु नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार गोरु सिन्धुपाल्चोक घर भएका विश्व बस्नेतको भएको खुलेको छ ।

गोरु लोड गरिएका ट्रक पूर्व–पश्चिम राजमार्गबाट मोरङको सुन्दरहरैँचाको बाँसबारी हुँदै झापाको दमकतिर लगिँदै थियो ।

तर केराबारी गाउँपालिका–८ का डोरबहादुर विक लगायत नौ जनाले राजमार्गबाट गोरु लोड गरिएको ट्रक अघि बढ्न नदिएर अवरोध पुर्याए । त्यसपछि चालकले तीनवटै ट्रक भगाएर भित्री बाटो हुँदै केराबारीको सत्तिसाले पुर्याएका हुन् ।

घटनाका बारेमा चाल पाएको प्रहरीले बाँसबारीबाट भगाएर सत्तिसाले पुर्याइएको गोरु र ट्रक नियन्त्रणमा लिएको हो ।

राजमार्ग हुँदै लैजानुपर्ने गोरु भगाएर केराबारी पुर्याएकाले पनि तस्करीको पुष्टि हुने स्रोतको भनाइ छ ।

बस्नेतसँग लेनदेन विवाद रहेका कारण विकको समूहले ट्रक अघि बढ्न नदिएको पाइएको डीएसपी थापाले बताए ।

उनका अनुसार व्यवसायमा साझेदारी गर्दाको पैसा बस्नेतले आफूहरुलाई दिन बाँकी रहेको कुरा विकले बताएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएर बुझाएपछि यस सम्बन्धमा राजस्वले अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट सर्लाहीको लालबन्दीदेखि गोरु ल्याइएको खुलेको छ । तर मोरङको विराटचोकको दृष्टि आरम्भ बहुउदेश्यीय बाख्रा फार्मले झापाको दमकस्थित हेमा खरिदबिक्री फार्मलाई गोरु बिक्री गरेको भनेर कागजपत्र मिलाएको पाइएको छ ।

यस घटनाबाट कागजपत्र मिलाउँदै नेपालबाट भारततिर गोरु तस्करी भइरहेको पुष्टि भएको स्रोतले बतायो ।

दुई पक्षबीचको लेनदेन विवादका कारण भारततिर भइरहेको अवैध गोरु तस्करीको धन्दा बाहिर आएको हो ।

बारम्बार भइरहेको तस्करी नियन्त्रणमा चासो नदिनुले यसमा प्रहरीका उच्च अधिकारीकै मिलेमतो रहेको स्रोतको दाबी छ ।

‘झापाका सीमावर्ती नाका हुँदै सिधै गोरु भारततिर पुग्ने गरेको पाइयो,’ स्रातले भन्यो, ‘ राजमार्गबाट निर्वाध रुपमा भइरहेको गोरु तस्करी धन्दा नियन्त्रणका लागि कसैले चासो दिएको पाइएन् ।

’ स्रोतका अनुसार पूर्व–पश्चिम राजमार्ग हुँदै झापा पुर्याएर दैनिक रुपमा नेपालबाट भारततिर गोरु तस्करी हुने गरेको छ ।

पश्चिम नेपालदेखि संकलन हुने गोरु भारतको बाटो हुँदै बंगलादेशसम्म पुग्ने गरेको पाइएको प्रहरी स्रोतले बतायो ।

गोरु नियन्त्रणमा लिँदा बिल लगायतका कागजपत्र चालकको साथमा रहेको भए पनि नक्कली हो कि सक्कली भन्ने यकिन नभएकाले ट्रकसहित नियन्त्रणमा लिइएका गोरु कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस विषयमा उतैबाट अनुसन्धान भएर वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रमेश ओझाले पश्चिमको सर्लाहीबाट गोरु ल्याइएको भए पनि कागजपत्रबाट भने मोरङको विराटचोकमा खरिदबिक्री भएको देखिने बताए । त्यही भएकाले कागजपत्र नै नक्कली भएको हुनसक्ने आशंका गरिएको छ ।

गोरु भगाएर केराबारी पुर्याएको बाँसबारी भन्ने ठाउँ पनि विराटचौकबाट लगभग आठ किलोमिटर पश्चिममा पर्छ ।

‘गोरु पश्चिमतिरबाट ल्याइएको छ । तर कागजपत्रबाट भने पूर्वको विराटचौकमा खरिद बिक्री भएको देखिन्छ,’ ओझाले भने, ‘के कारणले यस्तो भएको हो भन्ने विषयमा थप अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धान सकिएपछि वास्तविकता बाहिर आउँछ ।’ कुनै एक पक्षले अर्कोलाई बिक्री गर्दा माल वस्तुको परिणाम र मूल्यसमेत उल्लेख गरेर राजस्व कार्यालयको वेबसाइडमा ‘इन्ट्री’ गर्नुपर्ने नियम रहेको उनको भनाइ छ ।

प्रक्रिया पूरा नगरेमा गोरु वा कुनै पशु चौपाया लैजान नपाइने ओझाले बताए ।

तर गोरु भने ट्रकसहित भगाएर विराटचोकभन्दा धेरै पश्चिमतिर रहेको बाँसबारीबाट केराबारीको सत्तिसाले पुर्याइएपछि अनेक आशंका उब्जिएका छन् ।

यस घटनाबाट आवश्यक कागजपत्र मिलाएर सबै पक्षसँग ‘सेटिङ’ मिलाउँदै गोरु तस्करी भइरहेको प्रष्ट हुने स्रोतले बतायो ।

‘सबै प्रक्रिया पूरा गरेको भए राजमार्गबाट पूर्वको दमकतिर लग्नुपर्ने गोरु किन उत्तर (केराबारी)तर्फ लगियो भन्ने कुरा रहस्यकै गर्भमा छ,’ एक प्रहरीले भने, ‘तस्करीकै भएकाले विवादपछि पक्राउ पर्ने डरले राजमार्गबाट भगाएर अर्को बाटोको प्रयोग गर्दै गोरु कटाउने प्रयास गरिएको छ ।’

तस्करीका लागि गोरु लगिएको वा प्रक्रिया पुर्याएरै काम भएको हो भन्ने पुष्टि अनुसन्धानपछि हुने राजस्व इटहरीका प्रमुख दीपक खड्काले बताए ।

उनले प्रक्रिया पूरा नगरिकन गोरु लगिएको पाइएमा कानुनमा भएको व्यवस्था अनुसार कारबाही हुने जानकारी दिए ।

कोशिअनलाईनवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय