
२७ माघ २०७७, मंगलवार
सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ काे बजेटको आकार घटाएको छ ।
चालू आर्थिक वर्षका लागि १४ खर्ब ४६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमा घटाएको अर्थ मन्त्रालयले जनाएकाे छ ।
६ महिनाको बजेट खर्चको अनुमानका आधारमा कुल बजेटको ९१ दशमलव १९ प्रतिशत हुने गरि १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हुने गरि संशोधन गर्ने निर्णय गरिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए ।
सरकारले सुरूवाती लक्षको तुलनामा ९१ प्रतिशत चालू खर्च, ८० प्रतिशत पूँजीगत खर्च र ८५ प्रतिशत वित्तीय व्यवस्थातर्फ खर्च हुने अनुमान गरेको छ।
संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ रहने गरि विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले यो बजेटमा चुनाबको खर्च तथा कोभिड १९ को खोपको खर्च समेत जोडिएको जानकारी दिए ।
यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले बताए ।
बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले जानकारी दिए ।
चुनाबका लागि आयोगलाई ७ अर्ब
सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तोकेको चुनाबका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।
बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री पौडेलले निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको जानकारी दिएका हुन् ।