
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज काठमाडौँमा बृहत् सभा आयोजना गर्दैछ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।
नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताउनुभयो ।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्नुहुनेछ ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकालिने जनाइएको छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।
पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको कमिटीका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।
सभा सम्पन्न गर्न जिल्ला, पालिका र वडास्तरीय परिचालन कमिटी गठन गरिएको छ ।
प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको ¥याली गरेको थियो ।
यसैगरी राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले आमसभाको तयारीस्वरुप हिजो प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका थिए ।