
२१ माघ २०७७, बुधवार
भूमिगत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग सरकारले अनौपचारिक रूपमा वार्ता थालेको छ ।
यसअघिदेखि नै अघि बढ्नुपर्ने वार्ता विभिन्न आशंका र एकअर्काबीचको अविश्वासका कारण हुन सकिरहेको थिएन ।
सरकारले वार्ताको थालनी गरेसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिक मूलधारमा फर्कने अपेक्षा गरिएको छ ।
खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।
सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।
मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।
थापाले पढाईका क्रममा सुदर्शन आफ्नो घनिष्ट मित्र भएको र जनयुद्ध पनि सँगै लडेको उल्लेख गरेका छन् ।
सुदर्शनको स्वास्थ्यमा समस्या आएको सुनेपछि आफू भेट्न कारागार पुगेको उनले स्पष्ट पारेका छन् ।
उनले छोटो भेटमा सुदर्शनसँग वार्ताका विषयमा पनि कुराकानी भएको जानकारी दिए ।
तर सरकारले औपचारिक रूपमा वार्ताका लागि भने आफूलाई जिम्मेवारी नदिएको बताए ।
नख्खु कारागारका प्रमुख मोहन अधिकारीका अनुसार कारागारमा खानेपानी समस्या रहेको र कारागार अव्यवस्थित रहेको भन्दै कारागार व्यवस्थापनले मन्त्री थापालाई गुनासो गरेको थियो ।
त्यही बहानामा उनी अनुगमन गर्न भन्दै मंगलबार बिहान १० बजे नख्खु कारागार पुगेका थिए ।
सो क्रममा उनले कारागारमा रहेका कैदीबन्दीसँग पनि भेट गरेको र विप्लव समूहका नेता सुदर्शनसँग वार्ताका विषयमा छलफल गरेका हुन् ।
भेटमा मन्त्री थापाले विप्लव समूहका नेता सुदर्शनलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताका लागि सकारात्मक रहेको र सोका लागि प्रतिबद्धता आए सरकारले प्रतिबन्धसमेत फुकुवा गर्ने बताएका थिए ।
सो क्रममा विप्लव समूहका नेता सुदर्शनले भने आफू जेलभित्र रहेको र वार्ताका प्रयासबारे छलफल हुन नपाएको भन्दै वार्ताका लागि भने सकारात्मक रहेको जवाफ दिएको स्रोतले जनाएको छ ।
उनले आफ्नो समूह वार्ता विरोधी भने नभएको र सरकारले नै वार्ताको वातावरण बनाउनुपर्ने मन्त्री थापालाई भेटका क्रममा भनेका थिए ।
मन्त्री थापासमेत पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि असन्तुष्ट समूहलाई वार्तामार्फत मूलधारमा ल्याउने बताएपछि धेरै अपेक्षा गरिएको थियो ।
लगत्तै पूर्वमाओवादी पृष्ठभूमिका मन्त्री थापा विप्लव समूहसँग वार्ताका लागि प्रयासरत रहँदै आइरहेका छन् ।
सत्तारूढ नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।
सरकारले छिटै वार्ता समिति पनि बनाउने तयारी गरेको छ ।
नेकपाभित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनालाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आइरहेका छन् ।
उनले केही दिनअघि पूर्वजनमुक्ति सेनालाई बालुवाटारमै बोलाएर उनीहरूका गुनासा सुनेका थिए । यस्तै जनयुद्धका घाइतेलाई समेत ओलीले फकाउँदै आइरहेका छन् ।
सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
विप्लव समूहले भने सरकारलाई औपचारिक रूपमै पहल गर्न आग्रह गरेको स्रोतले बतायो ।
सो समूहले पहिले प्रतिबन्ध फुकुवा, त्यसपछि पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ र वार्ताका लागि औपचारिक आह्वानका लागि सरकारसँग आग्रह गर्दै आइरहेको छ ।